वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (NICU) मा उपचाररत १५ दिने शिशुको निधनप्रति अस्पतालले दुःख व्यक्त गर्दै घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
अस्पतालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा शिशुको निधनप्रति शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उपचारका क्रममा अपनाइएको प्रक्रिया र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ।
अस्पतालका अनुसार २०८३ कात्तिक २९ गते साँझ शिशुलाई तीन दिनदेखि ज्वरो आउने, शरीर पहेँलो हुने तथा अस्पताल ल्याउनुअघि पटकपटक कम्पन आउने समस्या देखिएपछि आकस्मिक कक्षमा ल्याइएको थियो। परीक्षणका क्रममा रगतमा बिलिरुबिनको मात्रा २६.४ एमजी/डीएल पाइएको थियो। शिशुको अवस्था गम्भीर रहेकाले विशेषज्ञ चिकित्सकको निगरानीमा सघन उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले शिशुलाई फोटोथेरापी, एन्टिबायोटिक औषधि, आवश्यक पोषण तथा अन्य उपचार प्रदान गरिएको र उपचार सुरु भएको १२ घण्टाभित्र बिलिरुबिनको मात्रा २६.४ बाट घटेर १५.१ एमजी/डीएल पुगेको जनाएको छ।
तर, मंसिर १ गते दिउँसो करिब ३ बजे शिशुको श्वासप्रश्वासमा समस्या देखिनुका साथै मुटुको धड्कन र अक्सिजनको मात्रा घटेपछि चिकित्सकहरूले सीपीआर, भेन्टिलेटर तथा आवश्यक औषधिमार्फत जीवनरक्षाको प्रयास गरेका थिए। यद्यपि, उपचार सफल हुन नसकेपछि सोही दिन साँझ ५:०५ बजे शिशुको निधन घोषणा गरिएको अस्पतालले जनाएको छ।
यसैबीच, शिशुको निधन अस्पतालमा अक्सिजन अभावका कारण भएको भन्ने समाचारप्रति अस्पतालले आपत्ति जनाएको छ। अस्पतालका अनुसार केन्द्रीय अक्सिजन प्लान्ट, सिलिन्डर म्यानिफोल्ड, एनआईसीयूका लागि छुट्टै स्थानीय म्यानिफोल्ड तथा तयारी अवस्थामा रहेका अतिरिक्त अक्सिजन सिलिन्डरको व्यवस्था रहेको छ।
अस्पतालले घटनाबारे अप्रमाणित आरोपलाई तथ्यका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यस्तै, मंसिर २ गते अस्पताल परिसरमा भएको तालाबन्दी तथा विरोधका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रवेशमा रोक लगाइएको, तीनवटा एम्बुलेन्स तथा अक्सिजन सिलिन्डर बोकेको सवारीसाधनलाई अस्पताल प्रवेश गर्न अवरोध गरिएको अस्पतालको दाबी छ। बहिरंग सेवा अवरुद्ध हुनुका साथै कर्मचारीमाथि धम्की तथा दुर्व्यवहार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
अस्पतालले पीडित परिवारको न्याय माग गर्ने अधिकारको सम्मान गर्ने जनाउँदै विरोधका नाममा आकस्मिक स्वास्थ्य सेवा अवरुद्ध गर्ने, एम्बुलेन्स रोक्ने तथा स्वास्थ्यकर्मीमाथि धम्की दिने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।
घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै अस्पतालले बिरामीको उपचार, पारदर्शिता, पेशागत जवाफदेहिता र स्वास्थ्यकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।