छठ पर्वलाई लक्षित गर्दै ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्टा वेलफेयर सोसाइटी आदर्शनगरको संयुक्त आयोजनामा वीरगञ्जस्थित कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई साडी तथा पिठो वितरण गरिएको छ।
कारागारमा रहेका महिलाहरूलाई पनि छठ पर्वको खुसीमा सहभागी गराउने र पर्व मनाउन सहज बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति मोहनबहादुर क्षेत्री, बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी तथा कारागारका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, रुङ्टा वेलफेयर सोसाइटी आदर्शनगरका अध्यक्ष सुरेश रुङ्टासहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष खेतानले छठ पर्व आस्था, श्रद्धा र सामाजिक सद्भावको प्रतीक भएको उल्लेख गर्दै कारागारमा रहेका महिलाहरूलाई पनि पर्वको खुसीमा सहभागी गराउने उद्देश्यले सहयोग गरिएको बताए।
समाजका हरेक वर्ग र समुदायलाई चाडपर्वको खुसीमा समेट्नुपर्ने मान्यताअनुसार मानवीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत साडी र पिठो वितरण गरिएको उनले बताए।
कारागारमा रहेका महिला कैदीबन्दीहरूले पनि छठ पर्व मनाउन सहज महसुस गरून् र आफूहरू समाजबाट अलग नभएको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
यस्ता सामाजिक तथा मानवीय सेवामूलक गतिविधिले समाजमा आपसी सद्भाव, सहयोग, सहकार्य र मानवीय संवेदनालाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।