नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ आयोजना गरेको छ। मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरहरूको क्षमता र कला कौशल प्रदर्शन गरिएको हो।
प्रदर्शनीमा सेनाका तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्र्याकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचानलगायतका सीप प्रदर्शन गरेका थिए।
कार्यक्रममा नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले कुकुर सेनाको महत्वपूर्ण सहयोगी शक्ति रहेको बताए। उनले कुकुरलाई ‘फोर्स मल्टिप्लायर’का रूपमा उल्लेख गर्दै सुरक्षा, गस्ती, खोजी तथा शंकास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
सीमित स्रोतसाधनका बीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले कुकुरको प्रयोगले सुरक्षा तथा खोजी कार्यमा जनशक्तिको प्रभावकारिता बढाउने धारणा राखे।
उनका अनुसार कुकुरको सुँघ्ने क्षमता मानिसको तुलनामा निकै बढी हुने भएकाले टाढाबाटै शंकास्पद व्यक्ति तथा विस्फोटक पदार्थ पहिचान गर्न सहज हुन्छ। युद्ध तथा जंगलमा खटिने सैनिकको मनोबल बढाउनसमेत कुकुरले सहयोग पुर्याउने उनले बताए।
नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतीकका रूपमा लिँदै प्रत्येक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै मानव र कुकुरबीचको मित्रता र सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेनाले जनाएको छ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख, वडाध्यक्षहरू, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।