नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप तीव्रता दिँदै भविष्यलक्षित द्विपक्षीय आर्थिक साझेदारीको कार्यसूची तयार गर्ने उद्देश्यले वीरगञ्जमा ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ आयोजना गरिएको छ।
नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगञ्ज च्याप्टर र भारतको पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (PHDCCI) अन्तर्गतको इन्डिया–नेपाल सेन्टरको संयुक्त आयोजनामा मंगलबार (१८ नोभेम्बर २०२६) वीरगञ्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
नेपालका प्रधानमन्त्री बालेन शाहको यसै महिना हुन लागेको भारत भ्रमणअघि आयोजित यस मञ्चलाई विशेष महत्वका साथ हेरिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भौतिक पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा महत्वपूर्ण घोषणा हुने अपेक्षा गरिएको छ। जसमा नयाँ हवाई मार्ग तथा जनकपुर–अयोध्याबीच सीधा रेल सेवा सञ्चालनको विषयसमेत समावेश रहेको छ। यसका साथै भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा विकासमा भारतको सहयोगबारे पनि अपेक्षा गरिएको छ।
कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रका अगुवा, विभिन्न व्यावसायिक संघसंस्थाका पदाधिकारी, उद्योग, बैंकिङ, लजिस्टिक्स तथा आतिथ्य सत्कार क्षेत्रका प्रतिनिधि र NYEF वीरगञ्ज च्याप्टरका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य भारत–नेपाल व्यापारको वर्तमान अवस्था बुझ्नु, सीमापार व्यापारमा देखिएका व्यावहारिक समस्या तथा अवरोध पहिचान गर्नु र दुई देशबीचको आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउन भारत सरकारबाट अपेक्षित सहयोगबारे स्थलगत सुझाव संकलन गर्नु रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य वक्ता भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीचको द्विपक्षीय व्यापार विभिन्न क्षेत्रमा भइरहेको सहकार्यसँगै निरन्तर बढिरहेको बताउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धलाई अझ नजिक र मजबुत बनाउनुपर्नेमा जोड दिँदै जनस्तरको सम्बन्धलाई द्विपक्षीय सहकार्यको महत्वपूर्ण आधारका रूपमा निरन्तरता दिन यस्ता संवाद कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण NYEF वीरगञ्ज च्याप्टरका मोहित अग्रवालले गर्नुभएको थियो। च्याप्टरका अध्यक्ष चन्दन सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभयो।
त्यसैगरी, PHDCCI इन्डिया–नेपाल सेन्टरका वरिष्ठ सचिव अतुल के. ठाकुरले विषयवस्तुमाथि प्रकाश पार्दै नेपाल र भारतबीचको द्विपक्षीय आर्थिक सम्बन्ध तथा भविष्यमा आर्थिक सहकार्यको सम्भावनाबारे चर्चा गर्नुभयो। उहाँले आर्थिक सुधार र सुशासनको संयोजनले नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउन सक्ने उल्लेख गर्दै नेपालमा नीतिगत रूपमा सबै व्यवसायीलाई समान प्रतिस्पर्धाको अवसर उपलब्ध गराउनु महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा नेपालको उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले सीमापार व्यापारका विभिन्न समस्या र समाधानका उपाय प्रस्तुत गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले सहज व्यापारका लागि सीमावर्ती क्षेत्रको व्यवस्थापन थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले सीमावर्ती अर्थतन्त्र नेपालको आर्थिक विकासको निर्णायक पक्ष रहेको उल्लेख गर्दै यस विषयमा भारत र नेपालबीच थप गहिरो सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले नेपाली निर्यातमा असर पारिरहेका गैरभन्सार अवरोध तथा सीमापार अवैध आवागमनका विषय उठाउनुभयो। उहाँले अनौपचारिक व्यापारिक गतिविधिलाई समेत नियमन र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपाल औषधि उत्पादक संघ (APPON) का वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले भारतबाट चिनी निर्यातमा लगाइने प्रतिबन्धजस्ता निर्णयले नेपालको औषधि उद्योगमा गम्भीर असर पार्न सक्ने बताउनुभयो। उहाँले नेपाल र भारतबीच हार्मोनाइज्ड सिस्टम (HS) कोडमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन कनेक्टिभिटी, उत्पादकत्व र आपसी विश्वास महत्वपूर्ण आधार रहेको बताउनुभयो।
त्यस्तै, NYEF वीरगञ्ज च्याप्टरका पूर्वअध्यक्ष अनुप अग्रवालले आगामी पुस्तामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपालमा गुणस्तरीय शिक्षाको अवसर विस्तार गर्न भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरूलाई नेपालमा ल्याउनुपर्ने सुझाव दिनुभयो।
खुला छलफल सत्रमा सहभागीहरूले सीमापार व्यापार तथा व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका व्यावहारिक समस्या र चुनौतीबारे आ–आफ्ना अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले व्यापारिक प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रणालीको विकास तथा व्यापारिक प्रक्रियाको डिजिटलीकरणमा जोड दिएका थिए।
यसै क्रममा भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका वाणिज्य प्रतिनिधि मनीष दुधपुरीले उद्योगी तथा व्यवसायीले उठाएका व्यापारसम्बन्धी जिज्ञासाको जवाफ दिनुका साथै नेपाल–भारत सीमाबाट हुने व्यापारलाई थप सहज बनाउन भएका नयाँ व्यवस्थाबारे जानकारी गराउनुभयो।
कार्यक्रममा उठेका विषय तथा सुझावले उद्योगी र नीतिनिर्माताबीच प्रत्यक्ष संवादको महत्वलाई पुनः स्थापित गरेको आयोजकले जनाएको छ। स्थलगत रूपमा पहिचान भएका समस्या तथा सुझावलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन मञ्च महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।
यस पहलले अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा नयाँ व्यावसायिक सहकार्यका अवसर खोल्नुका साथै नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाका नजिक रहेको वीरगञ्ज औद्योगिक क्षेत्रको व्यापार प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।