वीरगञ्ज– भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका स्वास्थ्य सेवा विभागका पूर्व खरिद शाखा प्रमुख डा। सुरेन्द्र चौरसियाले छोराको नाममा ठूलो परिमाणमा जग्गा खरिद गरेको तथ्य सार्वजनिक भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको डिजिटल अभिलेखअनुसार उनका छोरा राजन चौरसियाको नाममा पर्सा जिल्लाका विभिन्न स्थानमा ६ कित्ता जग्गा रहेको देखिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागको अभिलेखमा राजनका नाममा भएका ६ वटा जग्गा कारोबारको विवरण भेटिएको हो। ती जग्गाको क्षेत्रफल क्रमशः ५१५, ७००, १ हजार ८१०, ३५३ दशमलव ७१, ५५ र ७०९ दशमलव ०१ वर्गमिटर रहेको छ। सबै जग्गाको कुल क्षेत्रफल ४ हजार १४२ दशमलव ७२ वर्गमिटर हुन्छ। अभिलेखमा यी जग्गा राजीनामामार्फत प्राप्त भएको उल्लेख छ।
सरकारी सेवामा रहँदा स्वास्थ्य उपकरण खरिद तथा ठेक्कापट्टामा अनियमितता गरी अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेका चौरसियाले आफ्नो नाममा सम्पत्ति नराखी छोराको नाममा जग्गा खरिद गरेको देखिएपछि सम्पत्तिको स्रोत र वास्तविक स्वामित्वमाथि प्रश्न उठेको छ।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौरसियाको सम्पत्ति तथा परिवारका सदस्यसँग जोडिएका आर्थिक कारोबारमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्तिको स्रोत लुकाउन छोरा, श्रीमती र आफन्तका नाममा रहेका बैंक खाता तथा सहकारी संस्थामार्फत कारोबार गरिएको विषय पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ।
त्यस्तै, छोरा राजनको नाममा रहेको एग्रो फर्मका लागि बाख्रापालन गर्ने प्रयोजन देखाएर बैंकबाट करिब चार करोड रुपैयाँ ऋण लिइएको र उक्त रकम घोषित प्रयोजनमा प्रयोग नगरी ब्याजमा लगाइएको आरोपसमेत छ। चौरसियाकी श्रीमती, भाञ्जा दिपनारायण चौरसिया र काका दिलिप चौरसियाको नाममा सम्पत्ति राखिएको विषयमा समेत अनुसन्धान भइरहेको स्रोतको दाबी छ।
यसैगरी, चौरसियासँग जोडिएको म्याक्सीम ट्रेडर्स प्रकरणमा ८ करोड ५९ लाख रुपैयाँको आर्थिक अनियमितताको आरोपमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा उनका छोरा राजनको सम्भावित संलग्नताबारे पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
यसअघि मेमोग्राफी मेसिन खरिदमा म्याक्सीम ट्रेडर्स इनकर्पोरेसनका सञ्चालक सुन्दर भुषालसँग मिलेमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा विशेष अदालतले चौरसियालाई चार महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
स्वास्थ्य उपकरण खरिदमा अनियमितताको आरोपबाट सुरु भएको चौरसियासम्बन्धी अनुसन्धान अहिले सम्पत्तिको स्रोत, छोराको नाममा खरिद गरिएका जग्गा तथा परिवारका सदस्य र आफन्तसँग जोडिएका आर्थिक कारोबारसम्म विस्तार भएको देखिन्छ। अनुसन्धानको केन्द्रमा सरकारी सेवामा रहँदा आर्जन गरिएको भनिएको सम्पत्तिको स्रोत र छोराको नाममा खरिद गरिएका जग्गामा लगानी भएको रकमको वास्तविक स्रोत रहेको छ। यस सम्बन्धमा थप प्रतिक्रिया लिन डा. चौरसियासँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन।