वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र प्याब्सन वीरगञ्जको संयुक्त आयोजनामा आगामी पुस १ गते अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुँदैछ।
प्याब्सन महानगर सचिव अमित आलोकका अनुसार प्रतियोगिता बिहान १० बजे वीरगञ्जस्थित टाउनहलमा आयोजना हुनेछ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति र लोकपरम्परा झल्किने नृत्य प्रस्तुत गर्नेछन्।
प्रतियोगितामा सहभागी प्रत्येक समूहले न्यूनतम ४ मिनेटदेखि अधिकतम ५ मिनेटसम्मको प्रस्तुति दिनुपर्ने व्यवस्था गरिएको छ।
विद्यार्थीहरूमा नेपाली कला, संस्कृति, मौलिक पहिचान तथा लोकपरम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सनले जनाएको छ।
प्याब्सन पर्साका सचिव अशोक संग्रौलाका अनुसार प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्नुका साथै विभिन्न जातजाति, भाषा, भेषभूषा र संस्कृतिसँग सम्बन्धित लोककला तथा परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउन सहयोग पुग्नेछ।
‘हाम्रो कला, हाम्रो पहिचान, लोकनृत्य हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मकता, सांस्कृतिक चेतना र मौलिक पहिचानप्रतिको सम्मान अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।