काठमाडौँ,०३ मंसिर । पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ का क्रममा राजधानी ढाकासहित देशका २८ जिल्लामा बम विस्फोट, आगजनी र राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को र्यालीमाथि आक्रमण गर्दा दुई स्थानीय नेताको ज्यान गएको छ। त्यस्तै, फरीदपुरमा एक बीएनपी नेता र पिरोजपुरमा एक यातायात मजदुरको मृत्यु भएको छ। राजधानी ढाकामा भएका विस्फोट र झडपमा कम्तीमा चार जना घाइते भएका छन्।
पछिल्ला दुई दिनयता देशका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधि बढेका छन्। सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ। चटगाउँस्थित युनुसको पैतृक निवासमा समेत अज्ञात समूहले आगो लगाएको बताइएको छ।
यता, राजधानी ढाकामा अवामी लिगका दुई नेताको घरमा बीएनपीका कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। देशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौँ घरेलु बम विस्फोट गराइएको छ भने विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी भएको छ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको ‘जुलाई विद्रोह’ पछि सत्ताच्युत भएकी शेख हसिना हाल भारतमा निर्वासनमा छिन्। मानवताविरुद्धको अपराधमा विशेष न्यायाधिकरणले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसर पारेर अवामी लिगले लकडाउन आह्वान गरेको हो।
यसै महिनाको सुरुवातमा हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन्। उनको उक्त घोषणापछि देशको राजनीतिक तनाव थप चुलिएको छ।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जनालाई प्रहरीले पक्राउ गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका थिए। सयौँ प्रदर्शनकारीले प्रहरी चौकी घेराउ गरेपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरीले चौकी खाली गर्नुपरेको थियो।
बढ्दो हिंसाप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री तारिक रहमानले बुधबार राति अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिएका छन्। उनले लोकतन्त्रको पक्षमा रहेका सबै शक्तिलाई एकजुट भएर हिंसात्मक गतिविधिको प्रतिवाद गर्न आह्वान गरेका छन्।
यसअघि मंगलबार राति संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले सन् २०२४ को जनआन्दोलनको भावनाअनुसार पुनः एकताबद्ध भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए। ‘द डेली स्टार’ का अनुसार उनले सरकारी सुरक्षा संयन्त्रमा मात्र निर्भर नभई आफ्ना सांसदहरूलाई समेत सडकमा सक्रिय भएर प्रतिवाद गर्न निर्देशन दिएका छन्।
यसैबीच, हिंसा थप फैलिन नदिन सरकारले देशका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। हसिनाको जन्मस्थान गोपालगञ्जसहित प्रभावित विभिन्न जिल्लामा अर्धसैनिक बल ‘बोर्डर गार्ड बंगलादेश’ (बीजीबी) का हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। राजनीतिक तनाव र हिंसात्मक गतिविधि बढ्दै जाँदा बंगलादेशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ