वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) त्यागेर अन्य दलमा आबद्ध भएका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद निर्वाचन आयोगले खारेज गरेको छ । दल परिवर्तनसम्बन्धी कारबाहीपछि आयोगले सार्वजनिक सूचना जारी गर्दै उनीहरूको निर्वाचित पद समाप्त भएको जनाएको छ ।
निर्वाचन आयोगका अनुसार २०८३ मंसिर २ गतेको निर्णयअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ बमोजिम उनीहरूको पद रिक्त भएको हो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गर्दै दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिले आयोगमा जानकारी गराएको थियो । सोही आधारमा आयोगले उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ ।
पद रिक्त हुनेमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतो रहेका छन् ।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ ।
खोटाङका जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पदसमेत रिक्त भएको आयोगले जनाएको छ ।
यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नाल, वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक तथा वडा सदस्यहरू रामधन राई र शहरमनी राईको पद रिक्त भएको छ ।
इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङ, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राईको पद पनि रिक्त गरिएको छ ।
आयोगको निर्णयसँगै विभिन्न जिल्लाका १८ जना जनप्रतिनिधिले स्थानीय तहमा निर्वाचित पद गुमाएका छन् । यस निर्णयबाट पर्साको कालिकामाई गाउँपालिकाका दुई जना वडाध्यक्षसमेत प्रभावित भएका छन् ।
