वीरगञ्ज मंसिर ५ - वीरगञ्जमा श्री श्याम हनुमान ज्योति मण्डलको आयोजनामा ५८औँ वार्षिक श्री श्याम कार्तिक महोत्सव सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।
वीरगञ्जस्थित आदर्शनगरमा रहेको श्री टीबडेवाल विवाह भवनमा आयोजित महोत्सवमा स्थानीय गायक गोपाल शर्मा तथा भारतको नागपुरबाट आएकी गायिका कृष्णा प्रियाले भजन–कीर्तन प्रस्तुत गरेका छन्। उनीहरूको भजन प्रस्तुतिमा भक्तजनहरू सहभागी भई भक्तिमय वातावरणमा रमाएका थिए।
महोत्सवअन्तर्गत छप्पन भोग, अखण्ड पाठलगायतका विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएका छन्। महोत्सवमा पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका मारवाडी समुदायका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैबीच, महोत्सवको दोस्रो दिन शनिबार दिउँसो ३ बजेदेखि निशान शोभायात्रा निकालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। आदर्शनगरस्थित श्री टीबडेवाल विवाह भवनबाट सुरु हुने शोभायात्राले नगर परिक्रमा गरी पुनः श्री श्याम मन्दिरमा पुगेर समापन हुने बताइएको छ।
कार्यक्रममा श्री हनुमान ज्योति मण्डल वीरगञ्जका पदाधिकारी तथा कार्यक्रम संयोजक अजित लाठ, ओम गोयल, दिनेश दारुकालगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार श्री श्याम प्रभुको आराधना, धार्मिक आस्था अभिवृद्धि तथा भक्तजनबीच आपसी सद्भाव र एकता कायम गर्ने उद्देश्यले प्रत्येक वर्ष कार्तिक महोत्सव आयोजना हुँदै आएको छ।