वीरगञ्ज, ५ मंसिर । वीरगञ्ज महानगरपालिका– अन्तर्गत ब्रह्मचोक अगाडि बाइपास रोडमा रहेको उत्कृष्ट ट्रेड कन्सर्नको टायर तथा मोबिल पसल र गोदाममा भीषण आगलागी भएको छ।गए राति करिब ११ः३० बजे लागेको आगोले प्रतिष्ठानको दुईतले भवनसहित भित्र भण्डारण गरिएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
बन्द अवस्थामा रहेको उक्त व्यावसायिक प्रतिष्ठानमा अचानक आगो सल्किएको थियो। टायर र मोबिलजस्ता अत्यधिक प्रज्वलनशील सामग्री भण्डारण गरिएकाले आगोले केही समयमै भयावह रूप लिएको थियो।
आगलागी नियन्त्रणका लागि पर्सा र बाराका एक दर्जनभन्दा बढी दमकल परिचालन गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक तथा सूर्य नेपाललगायत विभिन्न क्षेत्रबाट ल्याइएका दमकल टोली रातिदेखि नै आगो निभाउन खटिएका थिए।
आगो नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिकाले विशेष फोम प्रविधिसमेत प्रयोग गरेको थियो। भग्नावशेष हटाउँदै भवनभित्रको आगोको भित्री तहसम्म पुग्न महानगरपालिकाका स्काभेटरसमेत परिचालन गरिएको थियो।
लामो प्रयासपछि आगो थप फैलिन नदिई नियन्त्रणको घेराभित्र ल्याइए पनि पूर्ण रूपमा निभाउन सकिएको छैन।
आगलागीबाट उत्कृष्ट ट्रेड कन्सर्नको दुईतले भवन तथा गोदाममा रहेका सम्पूर्ण टायर र मोबिलका सामग्री जलेर पूर्ण रूपमा ध्वस्त भएका छन्। आगो नजिकै रहेको मोटर ग्यारेजसम्म फैलिँदा मर्मतका लागि राखिएका सवारीसाधनसमेत जलेर क्षतिग्रस्त भएका छन्।
घटनामा मानवीय क्षति भने नभएको सुरक्षा निकायले जनाएको छ। आगलागीको कारणसमेत हालसम्म खुल्न सकेको छैन।
गोदामभित्रको आगो पूर्ण रूपमा निभेपछि मात्रै घटनाको कारण र भएको आर्थिक क्षतिको यकिन विवरण संकलन गरिने स्थानीय प्रशासन तथा प्रहरीले जनाएको छ।