काठमाडौं,०५ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारतबीचको व्यापार घाटा, विद्युत् निर्यात, हवाई प्रवेश मार्ग र पारवहनलगायतका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले नेपाल र भारतबीच लामो समयदेखि कायम व्यापार असन्तुलन संरचनात्मक समस्या भएको उल्लेख गर्दै त्यसलाई सुधार्न स्पष्ट नीतिगत पहल आवश्यक रहेको बताएका हुन्।
उनले नेपाल भारतसँग असमान निर्भरता रहेको सम्बन्धमा बाँधिएको भन्दै व्यापारको प्रकृति, आयात–निर्यातको अनुपात र वस्तु विनिमयमा देखिएको असन्तुलनलाई दुई देशबीचको छलफलमा उठाउनुपर्ने बताए।
नेपालले कच्चा पदार्थ निर्यात गर्ने तर तयारी वस्तु बढी आयात गर्ने अवस्था रहेको उल्लेख गर्दै उनले नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउनुपर्नेमा जोड दिए। नेपाली वस्तुको निर्यातमा देखिने गैरभन्सार अवरोध तथा प्रक्रियागत झन्झट हटाउन पनि भारतसँग पहल गर्नुपर्ने उनको भनाइ छ।
भट्टराईले खुला सीमालाई बन्द गर्नुभन्दा व्यवस्थित बनाउनुपर्ने धारणा राखे। दुवै देशका सुरक्षा चासोलाई सम्बोधन गर्दै सीमा व्यवस्थापन गर्नुपर्ने र असमान निर्भरता घटाउने विषयमा गम्भीर छलफल हुनुपर्ने उनले बताए।
त्यस्तै, नेपालको विद्युत् उत्पादन क्षमता बढ्दै गएको अवस्थामा भारतमा विद्युत् निर्यात सहज बनाउनुपर्ने उनको सुझाव छ। विद्युत् व्यापारमा रहेका अवरोध हटाउनुका साथै दीर्घकालीन विद्युत् व्यापार सम्झौता गर्न पहल गर्नुपर्ने उनले बताए। बंगलादेशमा विद्युत् निर्यातको मार्गसमेत सहज बनाउन सके नेपालको व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।
कृषि उत्पादनको निर्यातमा देखिने क्वारेन्टाइन, उत्पत्ति प्रमाणपत्रलगायतका प्रक्रियागत समस्या समाधान गर्नुपर्नेमा पनि उनले जोड दिए। नेपाली कृषि उत्पादनले भारतीय बजारमा सहज प्रवेश पाउने वातावरण बनाउन आवश्यक रहेको उनले बताए।
यसैगरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो लगानी भइसकेको उल्लेख गर्दै भट्टराईले पश्चिम नेपालबाट भारत हुँदै आउने हवाई प्रवेश मार्ग उपलब्ध गराउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए। महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रबाट हवाई प्रवेशको सुविधा उपलब्ध गराउन भारतसँग कूटनीतिक संवाद गर्नुपर्ने उनको सुझाव छ।
भारतले सुरक्षा संवेदनशीलताको विषय उठाउँदै हवाई मार्गमा विभिन्न सर्त राख्ने गरेको भए पनि त्यसलाई वार्ता र संवादमार्फत समाधान गर्न सकिने उनले बताए।
भट्टराईले भारतसँगको सम्बन्धमा मागेर मात्रै उपलब्धि हासिल नहुने भन्दै नेपालले आफ्नो आर्थिक तथा राष्ट्रिय सामर्थ्य बढाउनुपर्नेमा जोड दिए। आपसी आरोपप्रत्यारोपभन्दा संवाद, कूटनीति र पारस्परिक हितका आधारमा समस्या समाधान गर्नुपर्ने उनको धारणा छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध सुधार र आर्थिक हितका विषय अघि बढाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै उनले व्यापार, ऊर्जा, पारवहन, हवाई मार्ग र सीमा व्यवस्थापनका मुद्दालाई समग्र रूपमा उठाउन सुझाव दिएका छन्।