काठमाडौं । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि देशलाई अस्थिर बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
भारतसँग सीमा जोडिएको बंगलादेशको उत्तरपश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरूले अशान्ति फैलाउन आगजनी र हत्याजस्ता गतिविधि गरिरहेको आरोप लगाए ।
हसिनाको पार्टीले देशव्यापी बन्द आह्वान गरेपछि बंगलादेशका विभिन्न क्षेत्रमा हिंसा भड्किएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार प्रतिबन्धित अवामी लिग र त्यसका सहयोगी संगठनका नेता तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमले बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पैतृक घरमा समेत आगजनी गरिएको जनाएका छन् ।
बीबीसी बंगलाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनमा सहभागी भएर फर्किने क्रममा भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या भएको थियो । प्रहरीले आक्रमणकारीहरू प्रतिबन्धित अवामी लिगका नेता तथा कार्यकर्ता रहेको जनाएको छ ।
न्यु एज पत्रिकाका अनुसार बिहीबारसम्म बंगलादेशका १८ जिल्लामा हिंसा फैलिएको थियो । मंगलबार रातिदेखि नै देशका विभिन्न स्थानमा आगजनी, तोडफोड र घरेलु बम विस्फोटका घटना भएका थिए ।
प्रदर्शनकारीले बस, प्रहरी कार्यालय, बीएनपीका कार्यकर्ताका घर, पार्टी कार्यालय र ग्रामीण बैंकका शाखालाई निशाना बनाएका थिए ।
बुधबार गोपालगन्जमा व्यापक हिंसा भएको थियो । त्यहाँ राजमार्गमा सवारीसाधन जलाइनुका साथै रुख ढालेर आवागमन अवरुद्ध गर्ने प्रयास गरिएको थियो ।
भारतमा रहेकी शेख हसिनालाई बंगलादेश फर्काउने विषयमा तनाव बढिरहेका बेला यी प्रदर्शन र हिंसाका घटना भएका हुन् ।
तोडफोड र अशान्ति फैलाएको आरोपमा अवामी लिगका कैयौँ नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् ।
युनुसको पैतृक घरमा आगजनी
सुरक्षा व्यवस्था कडा पारिए पनि चटगाउँमा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको पैतृक घरमा आगजनी गरिएको छ ।
अधिकारीहरूका अनुसार गोपालगन्जमा प्रदर्शनकारीले काशियानीस्थित प्रहरी कार्यालय, एक सांसदको निवास तथा उनका आफन्त र समर्थकका कैयौँ घरमा आगो लगाएका थिए ।
ढाकामा बिहान हुनुअघि नै विभिन्न स्थानमा घरेलु बम विस्फोट भएका थिए । नारायणगन्ज, मैमनसिंह र राजशाहीमा अज्ञात समूहले पाँचवटा बस र एउटा ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
राजधानी ढाकामा भएका हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएका छन् ।
बन्दको आह्वान हुनुअघि भएका छुट्टाछुट्टै घटनामा कम्तीमा चार जनाको मृत्यु भएको थियो । मृतकमध्ये बीएनपीका दुई नेता पनि रहेका छन् ।
यसअघि प्रधानमन्त्री रहमानले बीएनपीका सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्केर पार्टीका स्थानीय कार्यकर्तासँगै सडकमा सक्रिय हुन निर्देशन दिएका थिए ।
उनले अवामी लिगका कार्यकर्ताको गतिविधिको प्रतिवाद गर्न सांसदहरू आफैँ अग्रसर हुनुपर्ने भन्दै सुरक्षाका लागि प्रशासनमाथि मात्रै निर्भर नहुन आग्रह गरेका थिए ।
यसैबीच, बंगलादेशले शेख हसिनाले स्वेच्छाले फर्किएर कानुनी प्रक्रियाको सामना गर्ने इच्छा व्यक्त गरे पनि भारतसँग भएको द्विपक्षीय सन्धिअनुसार उनको सुपुर्दगी गर्नुपर्ने माग दोहोर्याएको छ ।
हसिना सत्ताबाट हटेपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बीएनपी सरकारले फेब्रुअरी १२ मा भएको निर्वाचनबाट सत्ता सम्हालेपछि पनि उक्त प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
बुधबार के भएको थियो ?
बीबीसी बंगलाका अनुसार गोपालगन्जमा स्थानीय अवामी लिगका कार्यकर्ताले बीएनपी सांसद डा। केएम बाबरको स्वामित्वमा रहेको अस्पतालमा आक्रमण गरी तोडफोड र आगजनी गरेका थिए ।
त्यसैगरी, काशियानीमा अवामी लिगका कार्यकर्ताले ‘जय बंगल’ नारा लगाउँदै बीएनपीको प्रहरी कार्यालय र ग्रामीण बैंकको कार्यालयमा तोडफोड गरेका थिए ।
प्रहरी कार्यालयमाथि आक्रमण भएपछि त्यहाँ कार्यरत प्रहरी कर्मचारी कार्यालय छाडेर बाहिरिएका थिए ।
ढाकामा प्रहरीले प्रतिबन्धित अवामी लिग र त्यसका विभिन्न सहयोगी संगठनका कम्तीमा ७१ नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ढाकास्थित बैतुल मुकर्रम मस्जिदका पूर्वखतीब मुफ्ती रुहुल अमिनलाई बसुन्धरा आवासीय क्षेत्रबाट पक्राउ गरेको छ ।
यसैबीच, ढाका उच्च अदालतले देशका सबै सार्वजनिक विश्वविद्यालयका प्रवेश परीक्षा डिसेम्बर ३१ सम्म स्थगित गर्न आदेश दिएको छ ।
ढाकाको पल्लबी क्षेत्रमा एउटा यात्रुवाहक बसमा समेत आगजनी गरिएको थियो । यद्यपि, प्रहरीले उक्त बसमा कुनै पनि यात्रु नरहेको जनाएको छ ।