काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हुने कार्यक्रम,द्विपक्षीय भेटवार्ता तथा समझदारीबारे जानकारी दिएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गर्नेछन्। उनी आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका मुख्य सल्लाहकार,राजनीतिक सल्लाहकारलगायत उच्च अधिकारी सहभागी हुनेछन्। नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन्।
त्यसैगरी,निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ। भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत जानेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा व्यापार,पारवहन,लगानी,ऊर्जा सहकार्य,सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका विषयमा छलफल हुनेछ।
नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा मानव संशाधनसम्बन्धी विषयमा विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।
दुईपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। आइतबार भारतीय विदेशमन्त्री एस।जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी,प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। भ्रमणका अवसरमा नेपाल–भारत फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।