५ मंसिर, काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट नेपाली फुटबलमाथि लागेको निलम्बन फुकुवा हुने प्रक्रिया सकारात्मक रूपमा अगाडि बढेको बताएका छन् ।
थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का शीर्ष नेतृत्वसँगको महत्त्वपूर्ण छलफलपछि स्वदेश फर्किएका मन्त्री पोखरेलले नेपाली फुटबलको निकासका विषयमा विश्व तथा एसियाली फुटबल निकाय सकारात्मक रहेको जानकारी दिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पोखरेलले सहमतिअनुसार आगामी डिसेम्बरसम्ममा निलम्बन फुकुवा तथा निर्वाचनसम्बन्धी स्पष्ट ‘रोडम्याप’ तयार हुने बताए ।
“फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउँछ। त्यसपछि सहमतिअनुसार डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउँछौँ,” मन्त्री पोखरेलले भने, “त्यो रोडम्यापअनुसार निर्वाचन गर्नुपर्ने उहाँहरूको प्रस्ताव छ । हामीले राखेका कुराहरूमा पनि उहाँहरू सकारात्मक हुनुहुन्छ र उहाँहरूले राखेको प्रस्तावमा हामी पनि सकारात्मक छौँ।”
मन्त्री पोखरेलका अनुसार विगतमा फिफा–एएफसी र नेपाल सरकारबीच बुझाइमा केही फरकपन आउँदा निलम्बनको समस्या सिर्जना भएको थियो । तर, थाइल्यान्ड वार्तामा फिफा र एएफसी ‘तहगत निर्वाचन’ गराउन सहमत भएसँगै गतिरोध अन्त्य हुने दिशामा अघि बढेको उनले उल्लेख गरे ।
नेपालको प्रचलित कानुन र राज्यको भूमिकाबारे अन्तर्राष्ट्रिय निकायलाई स्पष्ट पारिएको बताउँदै उनले भने, “राज्यले गर्ने काम आफैँले गर्छ, देशको कानुनअनुसार नै काम हुन्छ र त्योभन्दा बाहिर गएर हामी केही गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ। यसमा उहाँहरू निकै सकारात्मक हुनुभयो।”
अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचन पुरानै कार्यसमितिले गराउने कि अन्तरिम कमिटी गठन गरेर जाने भन्ने विषयमा भने अझै अन्तिम टुङ्गो लाग्न बाँकी रहेको मन्त्री पोखरेलले स्पष्ट पारे। “तहगत निर्वाचन गर्ने भन्नेमा सैद्धान्तिक सहमति भएको हो। तर, कुन मोडालिटीमा गर्ने, कस्तो स्वरूपमा गर्ने र कहिले गर्ने भन्ने विषयमा छलफल गरेर टुङ्ग्याउन बाँकी छ,” उनले थपे ।
एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड गएका मन्त्री पोखरेलले त्यहाँ फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग छुट्टाछुट्टै तथा सामूहिक भेटवार्ता गरेका थिए।
निलम्बन फुकुवाको वातावरण बनाउन गएको नेपाली प्रतिनिधिमण्डलमा मन्त्री पोखरेलसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र मन्त्रीका प्रमुख सल्लाहकार सिद्दी व्यन्जनकारसमेत सहभागी थिए।