वीरगञ्ज । थारु समुदायलाई संगठित गर्दै उनीहरूको हक–अधिकार, पहिचान र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ गठन गरिएको छ।
अभियानको औपचारिक उद्घाटन पूर्व प्रहरी महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले दीप प्रज्वलन गरी गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले राज्यले थारु समुदायको हक–अधिकार सुनिश्चित गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले विभिन्न समयमा थारु समुदायलाई केवल उपयोग गर्ने काम भएको उल्लेख गर्दै अब आफ्नो अधिकारका लागि समुदाय आफैँ संगठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
थारु समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा उत्पीडित वर्गका वास्तविक समस्या उजागर गरी उनीहरूलाई एउटै अभियानमा जोड्ने उद्देश्यले तीन वर्षअघिदेखि नै तयारी थालिएको उहाँले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्सामा विधिवत् दर्ता भएको अभियानलाई पर्साबाट देशव्यापी रूपमा विस्तार गर्नुपर्ने उहाँको सुझाव थियो।
कार्यक्रमबाट पूर्वमन्त्री मोहनलाल प्रसाद चौधरीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा रामबिहारी प्रसाद थारु, सचिवमा अधिवक्ता विशाल चौधरी र कोषाध्यक्षमा वन ओझा थारु चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा अर्जुनकुमार बैठा, अमिला चौधरीलगायत रहनुभएको छ।
नवनिर्वाचित अध्यक्ष मोहनलाल प्रसाद चौधरीले थारु समुदायलाई हरेक क्षेत्रमा संगठित गर्दै उनीहरूको हक–अधिकार सुनिश्चित गर्न अभियान सुरु गरिएको बताउनुभयो। उहाँले समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक विकासका लागि अभियानले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभियानका सचिव अधिवक्ता विशाल चौधरीले संस्थालाई संस्थागत रूपमा अगाडि बढाउँदै थारु समुदायको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई चार मुख्य आधारका रूपमा अघि बढाइने बताउनुभयो।
कार्यक्रममा थाकसका केन्द्रीय सदस्य बृजमोहन चौधरी, डा. कृपासिन्धु चौधरी, डा. निरज चौधरी, अधिवक्ता अमयदास थारु, थारु छात्रावासका अध्यक्ष शेखर चौधरी तथा वन अधिकृत यसमिन चौधरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।
सोही अवसरमा ‘उत्पीडित थारु समुदायको वास्तविक जीवन कथा’ पुस्तकको विमोचनसमेत गरिएको थियो।
थारु समुदायका वास्तविक समस्या पहिचान गरी उनीहरूको अधिकार, पहिचान र सामाजिक न्यायका पक्षमा आवाज उठाउने लक्ष्यसहित गठन गरिएको अभियानले आगामी दिनमा देशव्यापी रूपमा आफ्ना गतिविधि विस्तार गर्ने जनाएको छ।