वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याइएका बालकको तत्काल आकस्मिक शल्यक्रिया र सघन उपचारपछि स्वास्थ्यमा सुधार आएको हो। अस्पतालले आदित्यको सम्पूर्ण उपचार निःशुल्क गरेको जनाएको छ।
गत कात्तिक १४ गते बिहान करिब १०ः३० बजे गोली लागेका आदित्यलाई एक घण्टापछि नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याइएको थियो। अत्यधिक रक्तस्रावका कारण उनको रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै अवस्था अत्यन्तै नाजुक थियो। गोली लागेर पेटभित्रका आन्द्रामा गम्भीर क्षति पुगेको र आन्द्राका केही भाग बाहिर निस्किएको अवस्थामा तत्काल शल्यक्रिया नगरे ज्यान जाने जोखिम थियो।
बालकको अवस्थालाई मध्यनजर गर्दै पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाहसहितको विशेषज्ञ टोलीले जटिल आकस्मिक शल्यक्रिया गरेको थियो। शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, आन्द्रा पुनः जोड्ने, प्वालहरू मर्मत गर्ने, मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउने तथा दाहिने नितम्ब क्षेत्रमा लागेको गोली निकाल्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
शल्यक्रियापछि पनि अवस्था गम्भीर रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। आईसीयू इन्चार्ज डा. निरज केयाल र एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा उपचार गरिएको थियो। उपचारका क्रममा रक्तचाप कायम राख्न तीन प्रकारका औषधि, भेन्टिलेटर, चार युनिट रगत तथा दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा (एफएफपी) आवश्यक परेको थियो। चिकित्सक, नर्स तथा प्राविधिक टोलीले चौबीसै घण्टा निगरानीमा राखेर उपचार गरेका थिए।
आदित्यको उपचारमा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले नेशनल मेडिकल कलेजले आकस्मिक उपचार, जटिल शल्यक्रिया, आईसीयू सेवा, औषधि, रगत, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएको अस्पतालले जनाएको छ। अस्पतालमा रहँदासम्म परिवारसँग कुनै पनि शुल्क नलिइएको जनाइएको छ।
थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी उनलाई काठमाडौं लैजाने व्यवस्था मिलाएको थियो। आफन्तको अनुरोधमा कात्तिक १५ गते बिहान ११ः३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आदित्यलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं पठाइएको थियो।
काठमाडौं स्थानान्तरणपछि प्राप्त पछिल्लो स्वास्थ्य जानकारीअनुसार आदित्यको अवस्थामा उत्साहजनक सुधार आएको छ। उनी भेन्टिलेटरबाट मुक्त भएका छन्, होसमा आएका छन् र मुखबाट खाना खानसमेत थालेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचाररत छन्।
जीवनमरणको अवस्थाबाट बालकलाई बचाउन गरिएको तत्काल शल्यक्रिया, निरन्तर सघन उपचार, निःशुल्क स्वास्थ्य सेवा तथा थप उपचारका लागि गरिएको समन्वयले नेशनल मेडिकल कलेजको चिकित्सकीय तत्परता र मानवीय सेवाप्रतिको प्रतिबद्धता उजागर गरेको छ।
मधेश प्रदेशका विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेशनल मेडिकल कलेज परिवारले आदित्यको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।