वीरगञ्ज महानगरपालिका–२४ ज्योतिनगरस्थित लिटिल एन्जल्स स्कुलमा अन्तरसदनात्मक चेस (बुद्धिचाल) प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङका अनुसार विद्यालयद्वारा आयोजित प्रतियोगितामा चार सदन अग्नि, जल, पृथ्वी र वायुका गरी ३१ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
प्रतियोगिता ट्रिपल एलिमिनेसन प्रणालीमा सञ्चालन गरिएको थियो। यस प्रणालीमा तीनपटक पराजित भएपछि मात्रै खेलाडी प्रतियोगिताबाट बाहिरिने व्यवस्था हुन्छ। यसले विद्यार्थीहरूलाई एकपटकको हारपछि पनि पुनः प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गरेको थियो।
प्रतियोगिताले विद्यार्थीहरूमा एकाग्रता, धैर्यता, तार्किक क्षमता, आलोचनात्मक सोच तथा सही समयमा निर्णय लिन सक्ने सीप विकास गर्न सहयोग पुग्ने विद्यालयले जनाएको छ। साथै, विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, खेल भावना र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रिन्सिपल पाख्रिङले कक्षाकोठाको पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि शिक्षाको महत्वपूर्ण अंगका रूपमा विद्यालयले लिँदै आएको बताए। विद्यार्थीहरूको बौद्धिक, व्यावहारिक तथा सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै विद्यालयले यस्ता रचनात्मक तथा ज्ञानवर्धक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ।
यस्ता प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूमा अन्तर्निहित क्षमता र सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ।