वीरगञ्ज - दीपावली तथा छठ पर्वको पूर्वसन्ध्यामा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूलाई एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिएको छ।
वीरगञ्जस्थित लक्ष्मी प्याराडाइज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य शुशील साह कानुको प्रमुख आतिथ्यता तथा समाजका नवनिर्वाचित अध्यक्ष सुरेश साह कानुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष अधिवक्ता हरिहर साह कानुले वि।सं। २०६६ सालदेखि हालसम्म कानु समाज नेपालले तय गरेको यात्रा, संस्थागत विकास तथा विभिन्न गतिविधिबारे जानकारी गराएका थिए।
त्यसैगरी, समाजका प्रमुख सल्लाहकार शम्भु गुप्ताले कानु समुदायसहित सम्पूर्ण वैश्य समाज एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले समाजद्वारा निर्माण गर्न लागिएको कानु अतिथि सदनका लागि नगद ५ लाख ५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य शुशील साह कानुले कानु अतिथि सदन निर्माण कार्यमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। उनले समुदायको सामाजिक तथा संस्थागत विकासका लागि यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमको अध्यक्षता गरेका कानु समाज नेपालका नवनिर्वाचित अध्यक्ष सुरेश साह कानुले वीरगञ्जमा छिट्टै भव्य कानु अतिथि सदन निर्माण गरिने जानकारी दिए। उनले समाजको एकता, सहकार्य र सामूहिक प्रयासबाट संस्थालाई थप व्यवस्थित तथा सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई समाजका वरिष्ठ उपाध्यक्ष मदन साह कानुले स्वागत गरेका थिए। कार्यक्रम सञ्चालन समाजका उपाध्यक्ष प्रभाकर गुप्ता र महासचिव उमेश गुप्ता कानुले संयुक्त रूपमा गरेका थिए।