वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीमा बढ्दै गएको प्रदूषण नियन्त्रण तथा नदीको दीर्घकालीन पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले उद्योगबाट निस्कने रासायनिक पानी प्रशोधन नगरी नदीमा मिसाउन रोक लगाउनेदेखि नदी संरक्षणका लागि संयुक्त कोष स्थापना गर्ने प्रक्रियासम्मका निर्णय गरेको हो।
बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जिल्ला प्रशासन कार्यालयका अधिकारी, सुरक्षा निकाय, राजनीतिक दल, उद्योगी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले औद्योगिक करिडोरमा रहेका सबै उद्योगलाई आफ्नो उद्योगबाट निस्कने रासायनिक पानी प्रशोधन गरेर मात्र नदीमा विसर्जन गर्न निर्देशन दिने निर्णय गरेको छ। प्रत्येक उद्योगले अनिवार्य रूपमा बहिर्गमन प्रशोधन केन्द्र (ईटीपी) २४ सै घण्टा सञ्चालन गर्नुपर्ने निर्णयसमेत गरिएको छ।
व्यक्तिगत रूपमा प्रशोधन केन्द्र स्थापना गर्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य संघको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र (सीईटीपी) निर्माण गर्ने प्रक्रिया अघि बढाइने भएको छ। त्यसका लागि आवश्यक जग्गा पहिचान र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिने बैठकले निर्णय गरेको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका तथा आसपासका स्थानीय तहबाट निस्कने ढल सिधै सिर्सिया नदीमा मिसिन नदिन वैकल्पिक नाला (इन्टरसेप्सन ड्रेन) निर्माण गरी ढललाई अन्यत्र व्यवस्थापन गर्ने निर्णय गरिएको छ। यसका लागि संघीय तथा प्रदेश सरकारसँग आवश्यक प्राविधिक सहयोग लिइने जनाइएको छ।
नदीको दीर्घकालीन संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तहको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया पनि अघि बढाइने भएको छ।
आसन्न छठ पर्वलाई लक्षित गर्दै नदीमा पूजाआजा गर्ने व्रतालु तथा श्रद्धालुहरूको सुविधाका लागि विशेष व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ। उद्योगबाट निस्कने फोहोर तथा अन्य वस्तु नदीमा विसर्जन गर्न पूर्ण रूपमा रोक लगाउने र प्रशोधित पानी मात्र नदीमा छोड्ने व्यवस्था मिलाइने जनाइएको छ।
बैठकले सिर्सिया नदीलाई दीर्घकालीन रूपमा स्वच्छ र प्रदूषणमुक्त बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधारसँगै आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न सबै सरोकारवाला पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।