वीरगञ्ज– बाराको फेटा गाउँपालिका–३ स्थित अधुरो आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवाद, प्रदर्शन र झडपको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित टोलीमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। टोलीलाई घटनास्थलमै पुगेर विवाद, प्रदर्शन तथा झडपको वास्तविक कारणबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई समेत जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको एसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन्। लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई प्रसौनीको कार्यालय प्रमुखका रूपमा खटाइएको छ।
फेटा गाउँपालिका–३ मा निर्माण सम्पन्न नभइसकेको १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले शनिबार विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको र हाल वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनापछि आक्रोशित स्थानीयले अस्पतालमा ढुंगामुढा तथा तोडफोड गर्नुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरेका थिए। झडपमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।
घटनाको वास्तविक कारण, प्रहरीको बल प्रयोग र झडपको परिस्थितिबारे छानबिन टोलीले गर्ने अनुसन्धानलाई चासोका साथ हेरिएको छ।