२० कात्तिक, काठमाडौं । पञ्चायतकालीन कठिन भूमिगत कालमा वामपन्थी नेताहरूलाई जोखिम मोलेर आश्रय दिने राजनीतिक आन्दोलनकी एक निष्ठावान् आमा रनधता पोखरेलको ९१ वर्षको उमेरमा निधन भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा बिहीबार साँझ निधन हुनुभएकी पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुक्रबार बिहान पशुपति आर्यघाट पुग्नुभएको छ ।
अध्यक्ष ओलीले आर्यघाटमै पुगेर स्व.पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पञ्चायतकालमा भूमिगत जीवन बिताउने क्रममा अध्यक्ष ओली, एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतका शीर्स्थ व्यक्तित्वहरूलाई पोखरेलले आफ्नै घरमा आश्रय प्रदान गर्नुभएको थियो । राजनीतिक रूपमा अत्यन्तै जोखिमयुक्त त्यो कालखण्डमा उहाँले पुर्याउनुभएको योगदानलाई स्मरण गर्दै शीर्ष नेताहरू आर्यघाटमा पुगेका हुन् ।
आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेहरूमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र पूर्वसभामुख देवराज घिमिरेसहित उच्चपदस्थ व्यक्तित्वहरू रहनुभएको थियो ।
साथै, एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, विभिन्न संघीय सांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेशकी पूर्वमन्त्री रचना खड्कालगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी मातासमेत हुनुहुने स्व. पोखरेलका दुई छोरा र दुई छोरी हुनुहुन्छ । वामपन्थी आन्दोलनमा अमूल्य योगदान पुर्याउनुभएकी पोखरेलको आजै पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।