हाम्रो भान्सामा हरेक दिन पाक्ने भातको मूल्य हामी पैसामा हिसाब गर्छौं । तर त्यो एक किलो चामल उत्पादन गर्न कति पानी खर्च भयो भन्ने हिसाब कतिपटक गर्छौं ?
हामी भारतबाट चामल वा धान आयात गर्छौं । त्यससँगै अर्को कुरा पनि अप्रत्यक्ष रूपमा हाम्रो उपभोगमा जोडिएर आउँछ, त्यो खाद्यान्न उत्पादन गर्न प्रयोग भएको पानी । विज्ञान र अर्थशास्त्रमा यसलाई भर्चुअल वाटर ट्रेड अर्थात् अदृश्य जल व्यापार भनिन्छ । कुनै वस्तु उत्पादन गर्न प्रयोग भएको पानी त्यस वस्तुको व्यापारसँगै अप्रत्यक्ष रूपमा अर्को देशको उपभोगमा जोडिनुलाई यस अवधारणाले व्याख्या गर्छ ।
यसको अर्थ भारतबाट एक किलो चामल किन्दा त्यही परिमाणको पानी बोकेर नेपाल आएको होइन । तर त्यो चामल उत्पादन गर्न भारतको कुनै भूभागमा प्रयोग भएको पानीको पदचिह्न हाम्रो उपभोगसँग जोडिएको हुन्छ । अब प्रश्न उठ्छ, नेपालले खाद्यान्न आयात गर्दा अन्नको दानाको हिसाब मात्र गर्ने कि त्यो अन्न उत्पादन गर्न खर्चिएको पानीको हिसाब पनि गर्ने ?
नेपाल आफैँ कति धान उत्पादन गर्छ, कति आयात गर्छ ?
नेपालमा धान उत्पादनको अवस्था कमजोर मात्रै छ भन्न मिल्दैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा करिब ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको थियो । यो सकारात्मक उपलब्धि हो । तर उत्पादन बढ्दैमा आयातको आवश्यकता समाप्त भएको छैन ।
आर्थिक वर्ष २०२४/०२५ मा भन्सार तथ्यांकमा आधारित प्रकाशित विवरणअनुसार नेपालले ५३ करोड किलोभन्दा बढी धान, १६ करोड ५० लाख किलोभन्दा बढी साधारण चामल र करिब ६ करोड ८७ लाख किलो बासमती चामल आयात गरेको थियो । धान र चामल आयातको मूल्य पनि ठुलो परिमाणमा पुगेको देखिन्छ । यसले २ वटा कुरा देखाउँछ, नेपालमा धान उत्पादन भइरहेको छ, तर बजारको माग र स्वदेशी उत्पादनबीच अझै अन्तर छ ।
अर्कोतर्फ, धान उत्पादनका लागि उपलब्ध जमिन, पानी, श्रम र बजार व्यवस्थापनमा पनि प्रश्न छन् । त्यसैले अबको बहस केवल ‘नेपालले किन चामल आयात गर्छ ?’ भन्ने हुनुहुँदैन । ‘नेपालले कहाँ, कति र कुन विधिबाट धान उत्पादन गर्दा पानी र आर्थिक स्रोतको राम्रो उपयोग हुन्छ ?’ भन्ने प्रश्न पनि सँगै उठ्नुपर्छ ।
१ किलो धान उत्पादन गर्न कति पानी चाहिन्छ ?
धानलाई धेरै पानी चाहिने बाली मानिन्छ । तर यसको पानीको आवश्यकता सबै ठाउँमा समान हुँदैन । वर्षा, माटोको बनावट, तापक्रम, खेतीको समय, जात, सिँचाइ विधि र उत्पादन क्षमताले पानीको खपत फरक पार्छ । भारतमा गरिएको धानखेतीसम्बन्धी अध्ययनहरूले १ किलो धान उत्पादनमा प्रयोग हुने पानीको पदचिह्न क्षेत्रअनुसार फरक हुने देखाएका छन् ।
पञ्जाब र हरियाणामा भूमिगत पानीको अत्यधिक प्रयोग हुने क्षेत्रमा सिँचाइको पानीमाथिको निर्भरता बढी छ भने बढी वर्षा हुने उत्तरपूर्वी क्षेत्रमा वर्षाको पानीको योगदान ठुलो हुन्छ । पञ्जाबको एउटा अध्ययनले १ किलो चामलको कुल पानीको पदचिह्न २ हजार ६५० लिटर देखाएको छ, जसमध्ये सिँचाइबाट प्राप्त पानीको हिस्सा १ हजार ८०४ लिटर थियो ।
यहाँ एउटा कुरा बुझ्न आवश्यक छ । पानीको पदचिह्न भन्नाले खेतमा हालिएको सम्पूर्ण पानीलाई मात्र जनाउँदैन । यसमा वर्षाको पानी, सिँचाइको पानी र उत्पादन प्रक्रियासँग सम्बन्धित प्रदूषणको पानीसमेत छुट्टाछुट्टै हिसाब गरिन्छ । त्यसैले भारतको कुनै एउटा प्रदेशको तथ्यांकलाई नेपालको सबै खेतमा लागू गर्न मिल्दैन । तर यसले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ — धान उत्पादनको पानीको लागत ठाउँअनुसार फरक हुन्छ । नेपालमा पनि धान उत्पादनको क्षेत्रगत पानीको पदचिह्न मापन गर्ने काम आवश्यक छ ।
नेपालमा पानी छ, तर धानखेतीका लागि चाहिएको बेला छ ?
नेपाल जलस्रोतमा धनी देश भनेर चिनिन्छ । तर पानीको उपलब्धता र कृषि प्रयोजनका लागि पानी उपलब्ध हुनु एउटै कुरा होइन । नेपालको भौगोलिक बनावट, वर्षाको मौसमी वितरण र सिँचाइ संरचनाले कृषि उत्पादनमा ठुलो प्रभाव पार्छ । मनसुनमा पानी प्रशस्त हुने ठाउँमा पनि रोपाइँको समयमा पानीको अभाव हुन सक्छ ।
कतिपय क्षेत्रमा वर्षाको पानी खेतबाट बगेर जान्छ, तर अर्को समयमा त्यही खेत सिँचाइका लागि पानी खोजिरहेको हुन्छ । नेपालको कृषि उत्पादनमा पानीको आवश्यकता अध्ययन गर्ने एउटा मोडेलमा तराई क्षेत्रमा धानका लागि औसत पूरक सिँचाइ आवश्यकता करिब ७८५ मिलिमिटर देखाइएको छ । यो सबै खेतमा वास्तविक रूपमा खर्च भएको पानीको मापन होइन, मौसम, भूगोल र खेतीसम्बन्धी मोडेलमा आधारित अनुमान हो ।
यसले तराईमा धानखेतीका लागि वर्षाको पानीबाहेक थप सिँचाइको आवश्यकता हुन सक्ने देखाउँछ । त्यसैले पानीको उपलब्धता नहेरी धान उत्पादनको लक्ष्य तोक्नु उचित हुँदैन । कतै वर्षाको पानी संकलन गरेर धान उत्पादन बढाउन सकिन्छ भने कतै भूमिगत पानीको अत्यधिक दोहन नगरी वैकल्पिक बाली वा खेती विधि अपनाउनु उपयुक्त हुन सक्छ । हामीले धान उत्पादन बढाउने नाममा भूमिगत पानीको स्रोत कमजोर बनायौँ भने आजको खाद्य सुरक्षा भोलिको जलसंकटमा परिणत हुन सक्छ ।
अब जलस्रोतसहितको खाद्य आत्मनिर्भरता
नेपालले सबै चामल आफैँ उत्पादन गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नु आवश्यक छैन । त्यस्तै, विदेशबाट चामल आयात गर्नु नै गलत हो भन्ने पनि होइन । कुन ठाउँमा धान उत्पादन गर्दा बढी पानी खर्च हुन्छ रु कुन ठाउँमा वर्षाको पानीबाट राम्रो उत्पादन लिन सकिन्छ रु कुन क्षेत्रमा सिँचाइको दक्षता बढाउन सकिन्छ रु कुन ठाउँमा धानको सट्टा कम पानी चाहिने बाली उपयुक्त हुन सक्छ रु
यी प्रश्नको उत्तर भूगोल र वैज्ञानिक तथ्यका आधारमा खोजिनुपर्छ । यसका लागि नेपालले केही महत्वपूर्ण काम गर्न आवश्यक छ । पहिलो, प्रमुख धान उत्पादक जिल्लाको पानीको पदचिह्न छुट्टाछुट्टै अध्ययन गर्नुपर्छ । दोस्रो, वर्षाको पानी र सिँचाइको पानीको योगदान अलग–अलग मापन गर्नुपर्छ । तेस्रो, परम्परागत डुबान खेतीसँगै वैकल्पिक सिँचाइ विधि र पानी बचत गर्ने प्रविधिको स्थानीय परीक्षण गर्नुपर्छ ।
चौथो, धानको उत्पादकत्वसँगै प्रतिघनमिटर पानीबाट कति किलो धान उत्पादन भयो भन्ने सूचकलाई पनि कृषि योजनामा समावेश गर्नुपर्छ । पाँचौँ, खाद्यान्न आयात र स्वदेशी उत्पादनको निर्णय गर्दा उत्पादन लागत, किसानको आम्दानी, बजारको माग, पानीको उपलब्धता र वातावरणीय प्रभावलाई एउटै मूल्यांकनमा राख्नुपर्छ ।
अन्ततः खाद्य आत्मनिर्भरता भनेको देशभित्र जति सकिन्छ त्यति उत्पादन गर्नु मात्र होइन । उपलब्ध प्राकृतिक स्रोतलाई नष्ट नगरी दीर्घकालसम्म खाद्य आवश्यकता पूरा गर्न सक्ने क्षमता निर्माण गर्नु हो । नेपालले अब धानको उत्पादन र आयातको तथ्यांकसँगै त्यसको पानीको पदचिह्न पनि अध्ययन गर्नुपर्छ । कुन क्षेत्रमा कति पानी खर्चेर कति धान उत्पादन भइरहेको छ र आयातित चामल उत्पादनमा कस्तो जलस्रोत प्रयोग भएको छ भन्ने तुलनात्मक अध्ययन आवश्यक छ ।
खाद्य सुरक्षाको योजना बनाउँदा पानीको उपलब्धता र त्यसको वास्तविक लागतलाई बेवास्ता गर्न मिल्दैन । हामीले आजसम्म अन्नको उत्पादन गर्यौँ, अब त्यो अन्न उत्पादन गर्न खर्चिएको पानीको हिसाब पनि गर्नुपर्छ । किनकि खाद्य आत्मनिर्भरता र जलसुरक्षा एकअर्काबाट अलग विषय होइनन् । भोलिको खाद्य संकट अन्नको अभावबाट मात्र होइन, अन्न फलाउने पानीको अभावबाट पनि सुरु हुन सक्छ ।