काठमाडौं,१९ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्ने भएको छ। राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिनेछ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार सिक्का बिक्रीको व्यवस्था आज र भोलि गरी दुई दिनसम्म मात्र रहनेछ।
तिहारमा सुन तथा चाँदीका सिक्का खरिद गरी धनकी देवी लक्ष्मीका रूपमा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले राष्ट्र बैंकले हरेक वर्ष यस्तो व्यवस्था गर्दै आएको छ। गत वर्ष सुनको अभावका कारण चाँदीका सिक्का मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष भने वाणिज्य बैंकहरूबाट सुन खरिद गरी सुनका असर्फीसमेत बिक्री गर्न लागेको हो।
राष्ट्र बैंकले एक व्यक्तिले बढीमा २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न पाउने व्यवस्था गरेको छ।
सुनका असर्फी तथा चाँदीका मेडालियनको मूल्य खरिद गर्ने दिनको प्रचलित बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। सिक्का उत्पादन तथा प्रशोधनमा लागेको खर्चसमेत जोडिने भएकाले बजारमा पाइने सामान्य सुन–चाँदीको मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।
सिक्का खरिद गर्न इच्छुक व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपिसहित स्वयं टक्सार महाशाखामा उपस्थित हुनुपर्नेछ।
भुक्तानीका लागि नगदसँगै क्यूआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट रकम तिर्न सकिने व्यवस्था पनि मिलाइएको राष्ट्र बैंकले जनाएको छ।