वीरगञ्ज । बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले पछिल्लो समय पूर्वाधार विकास, कृषि अनुसन्धान, प्रविधि विस्तार तथा संस्थागत सुधारका विभिन्न काम अघि बढाएको छ।
निर्देशकको विशेष पहलमा संसदीय कोषबाट २ करोड ८० लाख रुपैयाँको लागतमा कार्यालय परिसरको बाहिरी सडक ढलान गरिएको छ। त्यस्तै, GGGI र कोरियाली संस्था KOICA को सहयोगमा १ करोड २६ लाख रुपैयाँ बराबरको परियोजना अनुदान विभिन्न कृषि अनुसन्धान केन्द्रलाई उपलब्ध गराउन समन्वय गरिएको कार्यालयले जनाएको छ।
भारतीय महावाणिज्य दूतावासको सहयोगमा ६५ लाख रुपैयाँ बराबरको बस तथा प्रदेश सरकारको सहयोगमा मत्स्य अनुसन्धानका लागि उपकरण प्राप्त भएको छ। ट्र्याक्टर, राइस ट्रान्सप्लान्टर र आलु खन्ने मेसिनसमेत कार्यालयले प्राप्त गरेको छ।
त्यसैगरी, भैँसी तथा बाख्रा अनुसन्धान इकाइ स्थापना, राष्ट्रिय पक्षी अनुसन्धान कार्यक्रमका लागि सप्तरीमा जग्गा प्राप्तिको पहल, कृषि अनुसन्धान उत्कृष्टता केन्द्र स्थापनाको योजना तथा प्रदेश र स्थानीय तहसँगको सहकार्यमा अनुसन्धान कार्यक्रम अघि बढाइएको छ।
कार्यालयका अनुसार वार्षिक राजस्व संकलन ६०–६२ लाख रुपैयाँबाट बढेर ९०–९५ लाख रुपैयाँ पुगेको छ। बीउ उत्पादन, कृषि यान्त्रिकीकरण, प्रविधि विकास तथा अनुसन्धान गतिविधिलाई समेत प्राथमिकताका साथ अघि बढाइएको निर्देशनालयले जनाएको छ।
यद्यपि, १ करोड ६५ लाख रुपैयाँ बराबरको विनियोजित बजेट तथा कार्यक्रम प्रशासनिक र व्यवस्थापकीय कमजोरीका कारण कार्यान्वयन हुन नसकेको कार्यालयको विवरणमा उल्लेख छ।
निर्देशनालयका निर्देशक डा. बीपी यादवले सीमित जनशक्तिका बाबजुद कृषि अनुसन्धान र उत्पादन वृद्धिका कार्यक्रमलाई निरन्तरता दिइरहेको बताएका छन्। उनका अनुसार किसानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा आधुनिक कृषि उत्पादनका लागि आवश्यक पर्ने बीउको उत्पादन, वितरण र राजस्व अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।
आवश्यक कर्मचारीको अभाव हुँदाहुँदै पनि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विभिन्न योजना निर्माण र कार्यान्वयन गरिएको उनले बताए।
केही स्वार्थप्रेरित तत्वहरूले अनावश्यक प्रचारबाजीमार्फत संस्थाको गरिमा घटाउने प्रयास गरे पनि आफू त्यसबाट विचलित नभई समाजका सबै वर्ग र विभागीय उद्देश्यअनुसार अघि बढिरहेको यादवको भनाइ छ। संस्थाको उद्देश्यअनुरूप कृषि अनुसन्धान, प्रविधि विकास र किसानको हितमा काम गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।