जनकपुर,१९ कार्तिक । छठ पर्व नजिकिएसँगै सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा बसोबास गर्ने मरिक समुदायका परिवार बाँसबाट बन्ने परम्परागत सामग्री निर्माणमा व्यस्त भएका छन् ।
छठ पर्व आउन अब १० दिन मात्रै बाँकी रहँदा इनरुवासहित कोसी, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, दुहबी, रामधुनी, गढी, बर्जु, इटहरी, धरान र बराहक्षेत्रलगायतका क्षेत्रमा मरिक समुदायका महिला तथा पुरुषलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ ।
छठ पर्वमा प्रयोग हुने ढाकी, नाङ्लो, सुप, कोनिया र डालालगायतका सामग्री बनाउन अहिले व्यस्त रहेको हरिनगरका भट्टाई मरिकले बताए । उनका अनुसार पर्वलाई लक्षित गरी केही दिन अघिदेखि नै सामग्री निर्माण गर्ने र बिक्रीका लागि बजारसम्म पुर्याउने तयारी भइरहेको छ ।
छठ पर्वमा बाँसबाट निर्मित सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा फलफूल, नरिवल, उखु तथा पूजाका अन्य सामग्री राख्न यस्ता सामग्री प्रयोग गरिन्छन् । त्यसैले छठ नजिकिँदै जाँदा बाँसका सामग्रीको माग पनि बढ्ने गरेको छ ।
पुर्खौंदेखि बाँसका सामग्री निर्माणलाई आफ्नो परम्परागत पेसाका रूपमा अपनाउँदै आएको मरिक समुदायका लागि छठ पर्व आम्दानीको महत्वपूर्ण अवसरसमेत बन्ने गरेको स्थानीय अमिरका मरिकले बताए ।
तर, पछिल्लो समय बजारमा प्लास्टिक तथा आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत बाँसका सामग्रीको व्यापार र पेसा संरक्षणमा चुनौती थपिँदै गएको उनको भनाइ छ ।
धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको बाँसका सामग्री निर्माण पेसाले छठ पर्वका बेला बजार पाउनुका साथै मरिक समुदायको जीविकोपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।