पर्साको पकाहामैनपुर गाउँपालिका–२ मानिकपुरमा लामो समयदेखि अधुरो अवस्थामा रहेको हनुमान मन्दिरको पुनर्निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष पदका प्रत्याशी कृष्णा पटेलले बुधबार मन्दिर पुनर्निर्माणका लागि शिलान्यास गरेका छन्।
पटेलका अनुसार छठ पर्वका दिन गाउँका स्थानीयवासीले प्लास्टिकको छानोमुनि रहेको बजरंगबली मन्दिरको पुनर्निर्माण गरिदिन आग्रह गरेका थिए। स्थानीयको आग्रहलाई आत्मसात् गर्दै आफूले सोही दिन मिस्त्रीसँग निर्माणको लागतबारे जानकारी लिएर काम अघि बढाउने निर्णय गरेको उनले बताए।
‘छठको दिन गाउँका स्थानीयवासीले मन्दिरको अवस्था देखाउँदै पुनर्निर्माण गरिदिन आग्रह गर्नुभयो। उहाँहरूको आग्रहपछि मैले मिस्त्रीसँग लागत लिएर मन्दिर निर्माणको काम अघि बढाएको हुँ,’ पटेलले भने, ‘मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण खर्च व्यक्तिगत रूपमा म आफैँले व्यहोर्नेछु।’
उनका अनुसार मन्दिर निर्माणको काम दुई चरणमा सम्पन्न गरिनेछ। पहिलो चरणमा बिम ढलान, पर्खाल निर्माण र जस्तापाताको छानो लगाउने काम गरिनेछ। उक्त चरणको काम एक साताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
त्यसैगरी दोस्रो चरणमा मन्दिरमा गुम्बज निर्माण, प्लास्टर तथा मार्बल लगाउने काम गरिने पटेलले जानकारी दिए। पहिलो चरणको काम सकिएपछि स्थानीयवासीसँग आवश्यक समन्वय गरी दोस्रो चरणको निर्माण कार्य अघि बढाइने उनको भनाइ छ।
लामो समयदेखि मन्दिरको निर्माण कार्य अधुरो रहेको र जग निर्माण गरेर त्यत्तिकै छोडिएको थियो। स्थानीयवासीको आग्रहपछि धार्मिक आस्थासँग जोडिएको मन्दिरलाई पूर्णता दिने उद्देश्यले पुनर्निर्माणको काम सुरु गरिएको पटेलले बताए।