९ मंसिर, काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् ‘अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस’। नेपालसहित विश्वका विभिन्न देशमा विविध चेतनामूलक तथा अधिकारमुखी कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदै छ ।
आजैका दिनदेखि डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) सम्म विश्वव्यापी रूपमा ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ समेत औपचारिक रूपमा सुरु भएको छ ।
महिला तथा बालिकामाथि हुने हिंसालाई मानव अधिकार उल्लङ्घनको सबैभन्दा व्यापक स्वरूपका रूपमा व्याख्या गर्दै संयुक्त राष्ट्रसंघले यसको अन्त्यका लागि कडा कानुनी व्यवस्था, पीडितको न्यायमा सहज पहुँच र जनचेतना अभिवृद्धिमा विशेष जोड दिँदै आएको छ ।
दिवसकै सन्दर्भमा सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले महिला सुरक्षाको भयावह चित्र प्रस्तुत गरेको छ । राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्रसंघीय महिला निकाय (युएन वुमन) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको छ ।
तथ्याङ्कअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घरपरिवार वा नजिकका साथीबाट हत्या भएको थियो, जुन दैनिक औसत १३७ जना हो । हिंसाका विभिन्न रूपमध्ये हत्या सबैभन्दा चरम अवस्था रहेको उल्लेख गर्दै प्रतिवेदनले यस्ता घटना लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको औँल्याएको छ ।
लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने उद्देश्यले महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई विशेष दिवसका रूपमा मनाउन थालेका हुन् । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन तानाशाह राफेल त्रुजिलोको आदेशमा राजनीतिक अधिकारका लागि सङ्घर्षरत ‘मिराबल दिदीबहिनी’को निर्मम हत्या गरिएको घटनाको स्मरणमा यो मिति छनोट गरिएको थियो ।
पछिल्लो समय संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई ‘महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’का रूपमा औपचारिक मान्यता प्रदान गरेको हो ।
त्यसअघि नै महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) पारित गरेको थियो भने सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरेको थियो ।
दिवसका अवसरमा शुभकामना तथा अपिल सन्देश जारी गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथि हुने हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने ‘विश्वव्यापी लज्जाको विषय’ भएको बताएका छन् । उनले हिंसा अन्त्यका लागि दोषीलाई कारबाहीको दायरामा ल्याई न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन विश्व समुदायलाई आह्वान गरेका छन् ।
महासचिव गुटेरेसले हिंसापीडित महिला तथा बालिकालाई तत्काल कानुनी सहायता, गुणस्तरीय स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयस्थलको प्रबन्ध मिलाउन तथा विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्न सबै सरकारहरूलाई आग्रह समेत गरेका छन् ।