काठमाडौँ,०९ मंसिर । खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले २०८३ मंसिर ८ गते पत्र जारी गर्दै देशभर ग्यासको आपूर्ति सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो ।
निगमले बजारको मागअनुसार एलपी ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगहरूको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन भनेको छ ।
त्यसैगरी, ग्यास विक्रेतामार्फत बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरेर उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निगमले निर्देशन दिएको छ ।
ग्यास आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन निगमले मुख्य तीन पक्षलाई प्राथमिकतामा राखेको छ । जसअनुसार बजारको मागअनुसार आयात वृद्धि गर्ने, उद्योगहरूको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्ने र बजारमा सिलिन्डरको नियमित वितरण सुनिश्चित गर्ने रहेको छ ।
आयातदेखि वितरणसम्मको आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिन तथा आम उपभोक्तालाई आवश्यकताअनुसार ग्यास उपलब्ध गराउन यस्तो पहल गरिएको निगमले जनाएको छ ।
आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय कायम भएमा बजारमा ग्यासको आपूर्ति थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
यसैबीच, निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ । कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन पनि निगमले सम्बन्धित सबैलाई सचेत गराएको छ ।