बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी वीरेन्द्र साह कानुकी भतिजी निशा कुमारी गुप्ताले नैमुदिन अन्सारी र उनकी श्रीमती सबाना खातुनमाथि कुटपिट तथा गालीगलौज गरेको आरोप लगाएकी छन्।
पीडित निशा गुप्ताका अनुसार आइतबार बिहान उनीमाथि कुटपिट गरिएको थियो। कुटपिटका क्रममा आफ्नो टाउकोसमेत फुटेको उनले बताएकी छन्। यसअघि पनि पटक–पटक घरमा मानिसहरू बोलाएर झैझगडा गर्ने, धम्की दिने तथा गालीगलौज गर्ने गरेको उनको आरोप छ। यस्ता घटना तीनदेखि चार पटकसम्म भइसकेको उनले बताइन्।
उक्त घटनाबारे आफूले सिमरा इलाका प्रहरी कार्यालयमा समेत जानकारी गराएको भए पनि प्रहरीले आवश्यक चासो नदेखाएको निशाको गुनासो छ। पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनले प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
निशाका अनुसार उनका काका वीरेन्द्र साह कानु र नैमुदिन अन्सारीबीच यस अघि नै मुद्दा चलिरहेको छ। मुद्दा विचाराधीन रहेकै अवस्थामा आफूहरूको घरमा रहेका सामान जबर्जस्ती बाहिर सडकमा फालिदिएको र केही सामान चोरीसमेत भएको उनले आरोप लगाएकी छन्।
उनले सुलेमान अन्सारी र नैमुदिन अन्सारीले सरकारी कार्यालयमा कार्यरत रहेको धाक देखाउँदै प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्ने गरेको आरोप लगाएकी छन्। उनका अनुसार नैमुदिन अन्सारी वीरगञ्जस्थित राजस्व कार्यालयका कर्मचारी हुन् भने सुलेमान अन्सारी कलैया स्थित सरकारी वकिलको कार्यालयमा कार्यरत छन्। उनीहरू चाचा–भतिजा रहेको पनि निशाले बताएकी छन्।
घटनाबाट आफू असुरक्षित महसुस गरिरहेको बताउँदै निशा कुमारी गुप्ताले प्रहरी प्रशासनसँग घटनाको गम्भीरतापूर्वक र निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। साथै, कुटपिट, गालीगलौज तथा घरायसी सामानमा भएको भनिएको क्षतिसम्बन्धी आरोपको सत्यतथ्य अनुसन्धान गरी दोषी पाइएकामाथि कानुनअनुसार कारबाही गर्न उनले सम्बन्धित निकायसँग जोडदार माग गरेकी छन्।