वीरगञ्ज– सामाजिक सेवामार्फत मानवीय सहयोग, परोपकार तथा सामाजिक सद्भावको भावना प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीले कपडा बैंकलाई नयाँ कपडा हस्तान्तरण गरेको छ।
खाटु श्याम बाबाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा क्लबले कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई २२ थान नयाँ कपडा हस्तान्तरण गरेको हो।लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीका चार्टर प्रेसिडेन्ट लायन सुशीला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट प्रो इन चिफ लायन विजय कुशवाहा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा समाजसेवी तथा कपडा बैंकका सल्लाहकार प्रकाश उपाध्याय, लायन सञ्जिता पौडेल (डिस्ट्रिक्ट डेपुटी चिफ), समाजसेवी रम्भा मिश्र र ओमप्रकाश सराफ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी लायन सिकि कुमारी साह, लायन शम्भु थिङ, लायन जानकी देवी, खुसी गुप्ता, लायन तथा सञ्चारकर्मी आनन्द पटेल, सञ्चारकर्मी जितेन्द्र प्रियान्सुलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले आर्थिक रूपमा विपन्न तथा असहाय व्यक्तिहरूलाई आवश्यक कपडा उपलब्ध गराउँदै आएको कपडा बैंकको सामाजिक भूमिकाको प्रशंसा गरेका थिए। आवश्यकतामा रहेका व्यक्तिहरूसम्म नयाँ तथा प्रयोग गर्न मिल्ने कपडा पुर्याउने यस्ता अभियानले समाजमा सहयोग, सद्भाव र मानवीयताको भावना अभिवृद्धि गर्ने उनीहरूको भनाइ थियो।
कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले प्राप्त कपडाले आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गर्ने लायन्स क्लब तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरे।
लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवा, परोपकार र समुदायको हितलाई लक्षित गरी विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।