वीरगञ्ज छठ पर्वको अवसर पारेर माहेश्वरी समाज वीरगञ्जले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–केहुनीमा छठ पर्व मनाउने १५० जना व्रतालु महिलालाई साडी वितरण गरेको छ।
छठ पर्वलाई लक्षित गर्दै समाजले धार्मिक तथा सामाजिक सेवाको भावनासहित व्रतालु महिलाहरूलाई साडी वितरण गरेको हो। छठ पर्वमा व्रत बस्ने महिलाहरूलाई सहयोग पुर्याउने तथा पर्वको खुसी र उत्साहमा साथ दिने उद्देश्यले साडी वितरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
माहेश्वरी समाज वीरगञ्जका अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रमेश साबु,विकास कर्नानी,दीपक बाहेती,शिव मोहत,अंकित माहेश्वरी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले छठ पर्व धार्मिक आस्था, पवित्रता, अनुशासन र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता सहयोगमूलक कार्यक्रमले समाजमा आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना बलियो बनाउने धारणा व्यक्त गरेका थिए।
माहेश्वरी समाज वीरगञ्जले विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमार्फत समुदायसँग जोडिँदै आएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने तथा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
साडी वितरण कार्यक्रमबाट छठ पर्व मनाउने १५० जना महिलाहरू लाभान्वित भएका छन्।