वीरगञ्ज। विद्यार्थीहरूमा लुकेर रहेको क्रिकेट प्रतिभालाई उजागर गर्दै अनुशासन, खेल भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ सञ्चालित अक्षरारम्भ कप २०८३ अन्तर्गत आज सम्पन्न दुईवटा सेमिफाइनल खेलबाट विद्यासदन माध्यमिक विद्यालय र ज्ञानोदय माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिताको नवौँ दिन आज सम्पन्न पहिलो सेमिफाइनलमा विद्यासदन माध्यमिक विद्यालयले GHP लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो भने दोस्रो सेमिफाइनलमा ज्ञानोदय माध्यमिक विद्यालयले ओम नेशनल एकेडेमीलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ।
पहिलो सेमिफाइनल (म्याच नं. २१): विद्यासदन चार विकेटले विजयी
पहिलो सेमिफाइनल खेलमा टस जितेर GHP ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभर पूरा खेल्दै GHP ले ७ विकेटको क्षतिमा ११६ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ११७ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको विद्यासदन माध्यमिक विद्यालयले १७.३ ओभरमा ६ विकेट गुमाउँदै ११७ रन बनाएर लक्ष्य पूरा गर्यो। यससँगै विद्यासदनले GHP लाई ४ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गर्यो।
विद्यासदनका अफ्ताब खानले अविजित ४८ रनको उत्कृष्ट पारी खेले। उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच घोषित गरियो।
दोस्रो सेमिफाइनल (म्याच नं. २२): ज्ञानोदय २१ रनले विजयी
आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ज्ञानोदय माध्यमिक विद्यालय र ओम नेशनल एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानोदय माध्यमिक विद्यालयले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो।
१११ रनको विजय लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको ओम नेशनल एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो। फलस्वरूप ज्ञानोदय माध्यमिक विद्यालयले २१ रनको जित दर्ता गर्दै फाइनलमा प्रवेश गर्यो।
ज्ञानोदयका युवराज कुश्वाहाले ४० रनको महत्वपूर्ण योगदान दिए। उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच घोषित गरियो।
भोलि उपाधिका लागि विद्यासदन र ज्ञानोदयबीच प्रतिस्पर्धा दुवै सेमिफाइनल खेल सम्पन्न भएसँगै अक्षरारम्भ कप २०८३ को फाइनल समीकरण पूरा भएको छ। अब उपाधिका लागि विद्यासदन माध्यमिक विद्यालय र ज्ञानोदय माध्यमिक विद्यालयबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।
भोलि हुने प्रतियोगिताको बहुप्रतीक्षित फाइनल खेलका लागि बिहान ८:०० बजे रिपोर्टिङ, ८:३० बजे टस र ९:०० बजे खेल सुरु हुनेछ।प्रतिभाको पहिचान, राष्ट्रिय खेलाडी उत्पादन हाम्रो लक्ष्य अक्षरारम्भ कप केवल एउटा क्रिकेट प्रतियोगिता मात्र नभई वीरगञ्ज तथा समग्र पर्सा जिल्लाका विद्यालयहरूमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई पहिचान गर्ने र उनीहरूलाई उचित मञ्च प्रदान गर्ने एउटा अभियान पनि हो। विद्यालय तहदेखि नै खेलकुदको विकास गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्नु यस प्रतियोगिताको प्रमुख उद्देश्य रहेको छ।
हिजोका दिनमा यस क्षेत्रका विद्यालयहरूबाट राष्ट्रिय स्तरका प्रतिभावान खेलाडीहरू उत्पादन भएको गौरवपूर्ण इतिहासलाई पुनः निरन्तरता दिने र आगामी दिनमा पनि असिफ, आरिफजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल खेलाडीहरू जन्माउने वातावरण निर्माण गर्नु यस अभियानको दीर्घकालीन लक्ष्य हो।
खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउँदै विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामूहिक भावनाको विकास गर्न पनि यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
यसै सन्दर्भमा भोलि हुन गइरहेको अक्षरारम्भ कप २०८३ को भव्य फाइनल खेल प्रत्यक्ष अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन सम्पूर्ण क्रिकेटप्रेमी, खेलप्रेमी, अभिभावक तथा पर्सावासी महानुभावहरूमा आयोजक समितिको तर्फबाट हार्दिक निमन्त्रणा तथा अनुरोध गरिन्छ।