हेटौँडा । भीमफेदी सवारी दुर्घटनामा मृत्यु भएकाहरूका आफन्तले सङ्घीय सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । पीडित परिवारले सो माग राख्दै दुर्घटनामा मृत्यु भएकाहरूको शव उठाउन मानेका छैनन् ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटना असाधारण प्रकृतिको भएको भन्दै पीडित परिवारले राज्यले नै विशेष रूपमा सम्बोधन गर्नुपर्ने माग राखेका हुन्। माग सम्बोधन नभएसम्म शव नबुझ्ने उनीहरूको अडान छ ।
मृतकका आफन्तले शव उठाउन नमानेपछि १३ जनाको शव हेटौँडा अस्पतालको शव गृहमा रहेको छ । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको परिवारले शव बुझिसकेको छ भने बाँकी १३ जनाको शव अझै अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकका आफन्तले यसअघि पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन् । पछिल्लो समय उनीहरूले सङ्घीय सरकारबाटै पीडित परिवारलाई सम्बोधन गर्नुपर्ने माग अघि सारेका हुन् ।
पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबहादुर खत्री, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा छलफल भएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष ननिस्किएको डीएसपी काफ्लेले बताए ।
पीडित परिवारका माग र क्षतिपूर्तिको विषयमा आज पनि छलफल हुने उनको भनाइ छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले राज्यले उपलब्ध गराउने कानुन तथा नियमअनुसारको क्षतिपूर्ति दिन कुनै बाधा वा अवरोध नरहेको बताएको डीएसपी काफ्लेले जानकारी दिए ।
तर, पीडित परिवारले सङ्घीय सरकारबाट थप सम्बोधन हुनुपर्ने माग राखेपछि शव हस्तान्तरणको प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ
दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जोखिमपूर्ण भिरमा उद्धार गरेका थिए । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका थिए ।