वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले जनतासँग प्रत्यक्ष भेटघाट, संवाद तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएका छन्।यसैक्रममा पटेलले वीरगञ्ज महानगरपालिका वडा नं. ३१ का स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास निर्माण तथा जनसरोकारका विभिन्न विषयमा बृहत् छलफल गरेका छन्। कार्यक्रममा रास्वपा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष दीपक पटेलको समेत उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा स्थानीयवासीले आफ्नो टोल तथा वडामा देखिएका समस्या, सडक, नाला, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताका विषय उठाएका थिए। उनीहरूले विकास निर्माणका कामलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा सुधीर पटेलले जनताको वास्तविक समस्या र आवश्यकतालाई बुझेर विकासका योजना अघि बढाउनुपर्ने बताए। उनले स्थानीयवासीबाट प्राप्त सुझाव तथा गुनासालाई विकासका प्राथमिकता निर्धारण गर्ने आधारका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
महानगरको समग्र विकासका लागि स्थानीय जनताको सहभागिता, सहकार्य र सुझाव महत्वपूर्ण हुने उल्लेख गर्दै पटेलले नागरिकसँगको प्रत्यक्ष संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यसै अवसरमा पटेलले स्थानीयवासीलाई छठ पर्वको शुभकामना व्यक्त गर्दै पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता कायम गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे। कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वडाको विकास र समृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो।
स्थानीयस्तरमा पुगेर नागरिकका समस्या सुन्ने, सुझाव संकलन गर्ने र विकासका सवालमा प्रत्यक्ष छलफल गर्ने उद्देश्यले यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको पटेलले बताएका छन्।