पर्साको कालिकामाई गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। वडा नं। ३ स्थित हरिहरपुरवीर्तामा रहेको गाउँपालिकाको कार्यालयमा बुधबार राति आगजनी गरिएको हो।
बुधबार राति पर्खाल नाघेर कार्यालय परिसरमा प्रवेश गरेको समूहले मुख्य गेटको ताल्चा खोली भित्र पसेर स्वास्थ्य, रोजगारलगायतका शाखामा आगजनी गरेको प्रहरीले जनाएको छ।
आगजनीबाट ती शाखामा रहेका कुर्सी, टेबललगायतका फर्निचर, एसी, कम्प्युटर तथा महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन्। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले आगजनीबाट कार्यालयका विभिन्न सामग्रीमा क्षति पुगेको जानकारी दिए।
बिहीबार बिहान गाउँपालिकामा कार्यरत जेसीबी चालक कार्यालय परिसरको मुख्य गेट खोलेर भित्र प्रवेश गर्दा आगजनी भएको देखेपछि गाउँपालिका अध्यक्ष वशिष्ठ कलवारलाई खबर गरेका थिए। त्यसपछि अध्यक्षमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो।
सूचना पाएलगत्तै प्रहरी निरीक्षक अर्यालको नेतृत्वमा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक अर्यालका अनुसार आगजनी गरिएका शाखामा ढोकाको ताल्चासमेत खोलेर प्रवेश गरी मोबिल छर्केर आगो लगाइएको प्रारम्भिक अवस्था देखिएको छ।
आगजनी कसले र किन गरेको भन्नेबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अर्यालले बताए। यसैबीच, आगजनीको खबर पाएपछि बिहीबार बिहान कार्यालय पुगेका गाउँपालिका अध्यक्ष कलवारलाई स्थानीयवासीले घेराउ गर्दै दुर्व्यवहारको प्रयास गरेका थिए। त्यसपछि केहीबेर कार्यालय परिसरको अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीले अध्यक्ष कलवारलाई आफ्नै गाडीमा राखेर सुरक्षित रूपमा त्यहाँबाट बाहिर लगेको थियो।