मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ५ महिला र ६ पुरुष गरी ११ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार मृत्यु हुनेमा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेका छन्। अन्य १० जना मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा हुन्।
दुर्घटनामा एकै परिवारका आमा र तीन छोरीसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन्। सोही दुर्घटनामा २६ वर्षीय बिकेश यादवको पनि मृत्यु भएको छ।
त्यस्तै, ३६ वर्षीय गुड्डु यादव, उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि ज्यान गएको प्रवक्ता काफ्लेले जानकारी दिए।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको थियो। गम्भीर घाइतेमध्ये अवधेश यादवका १४ महिनाका छोरा सुदीप यादव र मृतक गुड्डु यादवका ३ वर्षीय छोरा सुजन यादवलाई थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल रिफर गरिएको छ। त्यस्तै, टाउको र शरीरमा चोट लागेका ३१ वर्षीय देवेन्द्र राय ९बेचु० लाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।
अन्य घाइते ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।