वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरस्थित ज्ञान सागर एकेडेमीमाथि शिक्षकहरूमाथि श्रम शोषण गरेको आरोप लागेको छ। विद्यालयमा कार्यरत तथा पूर्वशिक्षकहरूले न्यून पारिश्रमिक, अतिरिक्त कार्यभार, सेवा सुविधाबाट वञ्चित तथा अपमानजनक व्यवहार सहनुपरेको गुनासो गरेका छन्।
शिक्षकहरूका अनुसार विद्यालयमा कक्षा ७ सम्म अध्यापन गर्ने शिक्षकहरूको सुरुवाती मासिक तलब मात्र ७ हजार रुपैयाँ रहेको छ। त्यस्तै, दशैँ बोनससमेत उपलब्ध नगराउने गरिएको आरोप उनीहरूले लगाएका छन्।
शिक्षकहरूले विद्यालय व्यवस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीको कापी तथा गृहकार्य नियमित जाँच नहुने, शैक्षिक गुणस्तर कमजोर रहेको र शिक्षकहरूलाई शैक्षिक गतिविधिभन्दा पनि परीक्षा शुल्क उठाउन तथा अभिभावकलाई फोन गर्न बढी दबाब दिने गरिएको बताएका छन्।
गुनासोअनुसार, विद्यालय प्रशासनले साँझ ४ बजेपछि समेत अभिभावकलाई फोन गर्न लगाउने र तोकिएको काम पूरा नभएसम्म शिक्षकलाई घर जान नदिने गरेको आरोप छ। शनिबार बिदाको दिनसमेत नतिजा तयार गर्ने र बैठक राख्ने गरिएको शिक्षकहरूको भनाइ छ।
त्यस्तै, विद्यालय छोड्ने शिक्षकलाई अनुभवपत्र (Experience Letter) नदिने तथा जागिर छोड्दा बाँकी पारिश्रमिकसमेत रोक्ने गरिएको आरोप लगाइएको छ। एक पूर्वशिक्षकले विद्यालयबाट तलब नपाएपछि प्रशासनसम्म पुग्दासमेत न्याय नपाएको गुनासो गरेका छन्।
विद्यालयका सञ्चालक पक्ष तथा प्रशासनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूको शिक्षकहरूप्रतिको व्यवहारलाई लिएर पनि प्रश्न उठाइएको छ। शिक्षकहरूले आफूहरूलाई सम्मानजनक व्यवहार नगरिएको, सामान्य पेस्की माग्दा समेत अनावश्यक सोधपुछ र अपमानजनक व्यवहार सहनुपरेको बताएका छन्।
यसका अतिरिक्त विद्यालय परिसरमा राजनीतिक गतिविधि तथा दलगत कार्यक्रम सञ्चालन हुने गरेको आरोपसमेत शिक्षकहरूले लगाएका छन्। विद्यालयलाई शैक्षिक संस्थाभन्दा व्यापारिक स्वार्थमा सञ्चालन गरिएको उनीहरूको गुनासो छ।
शिक्षकहरूले विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापनको पारदर्शिता र शिक्षकको श्रम अधिकारमाथि गम्भीर प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
शिक्षकहरूको गुनासोप्रति वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा तथा सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने माग उठेको छ। यस विषयमा विद्यालय प्रशासनको धारणा बुझ्न सम्पर्क गर्ने प्रयास गर्दा विद्यालयसँग सम्पर्क हुन सकेन।