काठमाडौं,१० मंसिर । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंमा आयोजना गर्ने भनिएको महाधिवेशनमा मतदान प्रक्रिया विद्युतीय मेसिनमार्फत सञ्चालन गर्ने निर्णय गरिएको हो ।
१५औँ नियमित महाधिवेशन तयारी समितिअन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार बुधबार बसेको महाधिवेशन तयारी समितिको बैठकमा विद्युतीय मेसिनबाट मतदान गराउने विषयमा छलफल भएको थियो । त्यसबेला मेसिनको टुंगो लाग्न बाँकी रहे पनि अहिले निर्णय भइसकेको उनले बताए ।
देउवा समूहले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । कुइँकेलका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ स्थानीय तहबाट प्रतिनिधि, तीन सय जना मनोनीत, भ्रातृ संस्थाबाट दुई सय र जनसम्पर्क समितिबाट दुई सय प्रतिनिधिसहित अन्य प्रतिनिधि सहभागी हुनेछन् ।
यसैबीच, देउवा समूहले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय पनि गरेको छ ।
समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्राचार गर्दै कांग्रेसबाट निर्वाचित भई हाल पदमा कार्यरत स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको जानकारी गराएका छन् ।
निर्वाचन समितिले उक्त निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।