वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–१०, लोहारपट्टी चोकस्थितFortune City Gaming Club Pvt. Ltd. (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८३ मंसिर १० गते राति ११:५० बजे उक्त क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा पर्नेमा वीरगञ्ज महानगरपालिकाका ५ जना, पर्सागढी नगरपालिकाका १ जना, बाराको कलैया उपमहानगरपालिकाका १ जना, काभ्रेको महाभारत गाउँपालिकाका १ जना र सिन्धुलीको मरिन गाउँपालिकाका १ जना रहेका छन्।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, पर्साको वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तरुवा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुली रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिइएका १२ जनालाई कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।