काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट आफ्नो पार्टीका उम्मेदवार निर्वाचित नभए पनि प्रदेशको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले विकासलाई निर्वाचनको परिणाम र राजनीतिक मतसँग जोड्न नहुने स्पष्ट पारेका हुन्।
कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै उनले प्रदेशको विकासका लागि मत माग्ने वा राजनीतिक सौदाबाजी गर्ने पक्षमा रास्वपा नरहेको बताए।
‘तपाईंहरूले हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको कुनै साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ,’ उनले भने, ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेल कर्णालीले एक जना पनि सांसद नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली हाम्रो प्राथमिकतामा रहनेछ।’
कर्णालीका नागरिकलाई पुल, सडक तथा अन्य विकासका पूर्वाधार निर्माणको आश्वासन दिएर मत माग्ने राजनीति नगर्ने उनको भनाइ थियो। आफ्ना उम्मेदवारलाई जिताए मात्रै विकास दिने सर्त राखेर कर्णालीसँग कुनै सौदाबाजी नगर्ने उनले स्पष्ट पारे।
लामिछानेले राजनीति निर्वाचनका लागि मात्रै नभई जनताको समस्या समाधान र विकासका लागि हुनुपर्नेमा जोड दिए। निर्वाचन राजनीतिभित्रको एउटा निरन्तर प्रक्रिया मात्रै भएको उल्लेख गर्दै उनले चुनावलाई नै सम्पूर्ण राजनीति मान्न नसकिने बताए।
उनले अन्य प्रदेशको तुलनामा कर्णालीमा रास्वपाको संगठनात्मक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको पनि स्वीकार गरे। ‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँको जस्तो हुन सकेन। उम्मेदवारलाई जिताएर संसद्मा पठाउने कुरामा हामी पछाडि पर्यौँ। हाम्रो आवाज कर्णालीका दूरदराजसम्म पुर्याउन सकेनौँ,’ उनले भने।
कर्णालीका समस्या र विकासका आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै लामिछानेले पार्टीको राजनीतिक प्रतिनिधित्व कमजोर भए पनि प्रदेशप्रतिको जिम्मेवारीबाट पछि नहट्ने बताएका छन्।