१२ मंसिर,विराटनगर । गृहमन्त्री सुधन गुरुङ शुक्रबार बेलुका काठमाडौँबाट गुपचुप रूपमा विराटनगर आइपुगेका छन्। विराटनगर विमानस्थलमा ओर्लिएका उनी मोरङका प्रमुख जिल्ला अधिकारीको गाडीमा चढेर रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालय पुगेका थिए।
गृहमन्त्री गुरुङको स्वागतका लागि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल विमानस्थल पुगेका थिए। विमानस्थलमा गुरुङ समुदायका प्रतिनिधिहरूले पनि उनलाई स्वागत गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीहरूले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा जलेको भनिएको पैसाको अनुसन्धान कहाँ पुगेको छ भनेर प्रश्न गरेका थिए। जवाफमा गृहमन्त्री गुरुङले ‘सबै कुरा तपाईंहरूलाई किन भन्नु’ भन्दै प्रश्न टारेका थिए।
गृहमन्त्री गुरुङ कुन औपचारिक कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन् भन्ने विषय आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन। यद्यपि, उनी सुनसरीमा आयोजना हुने गुरुङ समुदायको एक कार्यक्रममा सहभागी हुन आएको बुझिएको छ।
प्रहरी स्रोतका अनुसार शुक्रबार राति गृहमन्त्री गुरुङ कोशी प्रदेश प्रहरी कार्यालयमै बसेका थिए। त्यहाँ पुगेपछि उनी मध्यरातमा आफैँ स्कुटर चलाएर जोगबनी नाकासम्म पुगेको प्रहरी स्रोतले जनाएको छ।
आफ्नो सुरक्षामा खटिएका निजी सुरक्षा अधिकृत (पीएसओ) लाई पछाडि राखेर उनी स्कुटरमा सीमावर्ती नाकाको अवलोकन गर्न निस्किएका थिए। गृहमन्त्री स्वयं मध्यरातमा स्कुटर चलाएर सीमा नाका पुगेको घटनालाई सुरक्षा तथा प्रशासनिक वृत्तमा अर्थपूर्ण र चर्चाको विषयका रूपमा हेरिएको छ।
यद्यपि, जोगबनी नाका भ्रमणको वास्तविक उद्देश्य र त्यसक्रममा भएका गतिविधिबारे मन्त्रालय वा प्रहरी प्रशासनले कुनै औपचारिक विवरण सार्वजनिक गरेको छैन।
गृहमन्त्री गुरुङ हाल इटहरीबाट धरान गएका छन्।