वीरगंज, पर्सा। क्यापसन ग्रुप पर्सा बीरगंजले विद्यार्थीहरूको शिक्षण सिकाइ प्रक्रियामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पर्साका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी वीरगंजस्थित क्लासिक बैंक्वेटमा सुरु भएको छ।
गोल्डेन फ्युचर स्कुलका डाइरेक्टर डा. उमेश चौरसियाको सभापतित्व तथा सिद्धार्थ इन्टरनेसनल कलेजकी डा। सुषमा तिवारीको प्रमुख आतिथ्यमा कार्यशाला गोष्ठीको उद्घाटन गरिएको हो कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथि डा। तिवारीले वर्तमान समयमा एआईको महत्व र आवश्यकता बढ्दै गएको बताउनुभयो। विद्यार्थीहरूले समयअनुसार एआई प्रविधिको प्रयोग गर्दै आफ्नो ज्ञान, सीप तथा क्षमता विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। एआईको प्रयोग आवश्यक भए पनि यसको उपयोग सही समय र सही उद्देश्यका लागि गर्नुपर्ने उहाँको धारणा थियो।
कार्यक्रममा गोल्डेन फ्युचर स्कुलका प्रिन्सिपल उमेश शाहले अहिले प्रविधिको युग भएकाले विद्यार्थीहरूलाई नयाँ प्रविधिसँग परिचित गराउनु अत्यन्त आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यशालाले विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउनुका साथै सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो। त्यसैगरी सिद्धार्थ इन्टरनेसनल स्कुलका वीरेन्द्र पण्डित, एमई स्कुलका डाइरेक्टर इमामुद्दिन अहमद, डीपीएस प्लस टुका डाइरेक्टर राजेन्द्रप्रसाद चौधरी, अल्पाइन स्कुलका सञ्चालक विनोद उपाध्याय तथा फजिल अहमद लगायतले एआई प्रविधिको महत्व, प्रयोग र शिक्षामा यसको प्रभावकारिताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यशाला गोष्ठीमा कक्षा ९ र १० मा अध्ययनरत पर्साका नौवटा विद्यालयका ५०० जना विद्यार्थीहरूलाई सहभागी गराइएको छ।
कार्यशालामार्फत विद्यार्थीहरूलाई एआई प्रविधिबारे व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै शिक्षण सिकाइ प्रक्रियामा यसको उचित प्रयोग, सम्भावना र उपयोगिताबारे उपलब्धि हुने उद्देश्यले यो कार्यशाला गोष्ठीको आयोजना गरिएको प्रिन्सिपल उमेश शाहले जानकारी दिनुभएको छ।