वीरगञ्ज। बीपीएस प्लस टु कलेजले कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा आपसी परिचय, मित्रता र प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘फ्रेसर्स फियस्टा–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कलेजका निर्देशक दीपक पटेलको सभापतित्व तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक भट्टराईले विद्यार्थी जीवनमा अनुशासनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। असल, सक्षम र जिम्मेवार नागरिक बन्न अनुशासन अनिवार्य रहेको उल्लेख गर्दै उहाँले अनुशासनले व्यक्तिको आचरण र व्यवहारलाई सकारात्मक बनाउनुका साथै जीवनका हरेक क्षेत्रमा सफलता हासिल गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो। अनुशासित विद्यार्थी नै समृद्ध समाज र राष्ट्र निर्माणका आधार भएको उहाँको भनाइ थियो।
त्यसैगरी, कलेजका निर्देशक दीपक पटेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै उनीहरूको सर्वाङ्गीण विकासमा कलेजले विशेष जोड दिँदै आएको बताउनुभयो। विद्यार्थीलाई शैक्षिक गतिविधिका साथै अन्य क्षेत्रमा पनि अब्बल, सक्षम र प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा कलेजका निर्देशक राजेन्द्रप्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अर्का निर्देशक सन्दीप कुशवाहाले कलेजको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक यात्रा तथा हालसम्म हासिल गरेका उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रभात मेहता, प्रअ अनिल बनवाल, विशेष दुबेदी, दीपेन्द्र कानु, निर्मल ताम्राकार, मानव सेवा आश्रमका देवेश मानव, आकाश पटेललगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति तथा नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र मनोरञ्जनलाई प्राथमिकता दिइएको उक्त कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूलाई कलेजको शैक्षिक तथा सांस्कृतिक वातावरणसँग घुलमिल हुन महत्वपूर्ण अवसर प्रदान गरेको थियो।
कार्यक्रमको सञ्चालन बीपीएस प्लस टुका छात्रछात्रा शुधान्जली मेहता, इश्राना खातुन, चाँदनी चौरसिया, तेजा साह र आकाश यादवले गर्नुभएको थियो।