वीरगञ्ज । असोज । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज देशभरका शक्तिपीठ तथा घरघरका पूजाकोठामा नवदुर्गामध्येकी चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ ।
आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको विशेष पूजा गर्ने धार्मिक परम्परा छ । पौराणिक मान्यताअनुसार तीन प्रकारका ताप अर्थात् दुःख–कष्टलाई हरण गरी ब्रह्माण्डको सृष्टि गर्ने शक्ति भएकाले देवीको नाम कुष्माण्डा रहन गएको हो ।
धार्मिक विश्वासअनुसार कुष्माण्डा देवीको श्रद्धापूर्वक पूजा, आराधना र ध्यान गर्नाले सुख, शान्ति, ऐश्वर्य, विद्या तथा आरोग्य प्राप्त हुन्छ । नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रहरूको पाठ तथा पारायण गर्ने परम्परा छ ।
गत असोज २५ गते घटस्थापनासँगै सुरु भएको नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा–आराधना गरिएको थियो । आज चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै छ ।
दसैँको चौथो दिन काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, बज्रयोगिनी, विजेश्वरी, कङ्केश्वरी र कलङ्कीमाईलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
त्यसैगरी, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, मनकामना, इच्छाकामना, छिन्नमस्ता, गढीमाई, वीरगन्जको गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी र तालबाराहीजस्ता प्रसिद्ध शक्तिपीठमा पनि दर्शन तथा पूजाआराधना गर्न भक्तजनको उपस्थिति बढेको छ ।
नवरात्रका नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा–आराधना गरी दसैँ मनाउने धार्मिक परम्परा रहेको छ ।