काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्दै सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन सुरु गरिएको बताइएको हो । सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयहरूमा पार्टीको गम्भीर ध्यान गएको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।
‘घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।’
रास्वपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा विश्वास व्यक्त गर्दै रास्वपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको र आन्तरिक एवं सरकारी अनुसन्धानको निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नरहने जनाएको छ ।
