वीरगञ्ज– लायन्स क्लब अफ वीरगञ्ज र लायन्स क्लब अफ लाइफ लाइनको संयुक्त आयोजना तथा एभरेस्ट दन्त सेवा केन्द्र प्रा.लि. वीरगञ्जको सहयोगमा वीरगञ्ज–१२ ब्रह्मचोक स्थित ममता विद्या मन्दिर कलेजमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा एभरेस्ट दन्त सेवा केन्द्रका दन्तरोग विशेषज्ञहरू डा. मनोज उपाध्याय, डा. चन्द्रकान्त पासवान र डा. पुष्कर तिवारीले कलेजमा अध्ययनरत ७५ जना विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेका थिए। परीक्षणसँगै विद्यार्थीलाई दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत दिइएको लायन्स क्लब अफ लाइफ लाइनका सचिव लालबाबु सिंहले जानकारी दिए।
लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष गोविन्दप्रसाद कानुको अध्यक्षता तथा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लायन्स क्लबका एरिया चिफ सुनिलकुमार गुप्ता, रिजन चेयरपर्सन डा। मनोज उपाध्याय, रिजन चेयरपर्सन भानुभक्त अधिकारी, डा. चन्द्रकान्त पासवान, डा. पुष्कर तिवारी, ममता विद्या मन्दिर कलेजका अध्यक्ष शम्भुप्रसाद गुप्ता, प्रबन्ध निर्देशक विश्वास साह, प्रधानाध्यापक डा. रामप्रसाद सोनी, लियो क्लबका सुशीलप्रसाद कुशवाहा, रामपुकारप्रसाद यादव, झलककुमार साहलगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले लायन्स क्लबको ‘हामी सेवा गर्छौं’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य क्षेत्रमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले ‘स्वास्थ्य नै धन हो’ भन्दै सबैले आफ्नो स्वास्थ्यप्रति सचेत र जागरुक हुनुपर्नेमा जोड दिए।
शिक्षाको मन्दिरका रूपमा रहेको कलेजमा अध्ययनरत विद्यार्थीको निःशुल्क दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउँदै पाण्डेले कार्यक्रमका आयोजक दुवै लायन्स क्लब, सहयोगी एभरेस्ट दन्त सेवा केन्द्र तथा कलेज परिवारलाई धन्यवाद दिए।
त्यस्तै, कलेजका अध्यक्ष तथा समाजसेवी शम्भुप्रसाद गुप्ताले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै स्वास्थ्य सचेतना र अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको बताए। विद्यार्थीको स्वास्थ्य र अध्ययनसँग प्रत्यक्ष सम्बन्धित विभिन्न कार्यक्रम कलेजभित्र तथा बाहिर आयोजना गर्दै आएको उल्लेख गर्दै उनले लायन्स क्लबको टोलीले विशेषज्ञ चिकित्सकसहित कलेजमै आएर दन्त परीक्षण तथा परामर्श प्रदान गरेकोमा आभार व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष गोविन्दप्रसाद कानुले निःशुल्क दन्त परीक्षण शिविर सफल बनाउन सहयोग गर्ने एभरेस्ट दन्त सेवा केन्द्रका चिकित्सक तथा सहयोगी टोली, कलेज परिवार र लायन्स क्लबका सम्पूर्ण सहभागीप्रति धन्यवाद तथा आभार व्यक्त गरे।