३० असोज, वीरगञ्ज । लामो समयदेखि पर्खाइ र चर्चाको विषय बनेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नति प्रक्रिया अन्ततः औपचारिक रूपमा अघि बढेको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत पर्ने मितेरी पुलदेखि गण्डक चोकसम्मको मुख्य सडकलाई दुई खण्डमा विभाजन गरी निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।
सडक डिभिजन कार्यालय हेटौँडाद्वारा २०८३ कात्तिक २० गतेसम्म बोलपत्र पेस गर्ने गरी सूचना जारी गरिएको छ भने कुल ११ करोड ५० लाख रुपैयाँ धरौटी रकम तोकिएको छ ।
वीरगञ्जको प्रमुख व्यापारिक तथा यातायातको मेरुदण्ड मानिने मेनरोडको स्तरोन्नति नहुँदा लामो समयदेखि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूले सास्ती व्यहोर्दै आएका थिए । ठेक्का आह्वान भएसँगै सडक फराकिलो र व्यवस्थित हुने आशा जागेको छ ।
निर्माण कार्यलाई द्रुत र प्रभावकारी बनाउन सडक डिभिजनले कुल ८.०५४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेको छ । पहिलो खण्ड मितेरी पुलदेखि घण्टाघरसम्मको शून्यदेखि चार किलोमिटरसम्मको दूरीका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-26 कायम गरिएको छ । यस खण्डको बोलपत्र जमानत (धरौटी) रकम ६ करोड रुपैयाँ र बोलपत्र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी दोस्रो खण्ड घण्टाघरदेखि गण्डक चोकसम्मको चार किलोमिटरदेखि ८.०५४ किलोमिटरसम्मको दूरीका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-27 निर्धारण गरिएको छ । यस दोस्रो खण्डका लागि बोलपत्र जमानत रकम ५ करोड ५० लाख रुपैयाँ र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ । दुवै खण्डको गरी कुल ११ करोड ५० लाख रुपैयाँ धरौटी रकम तोकिए तापनि कुल आयोजना लागत भने प्रकाशित सूचनामा खुलाइएको छैन
सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार इच्छुक र योग्य निर्माण व्यवसायीहरूले २०८३ कात्तिक २० गते दिउँसो १२ बजेसम्म अनलाइन वा तोकिएको प्रक्रियामार्फत बोलपत्र पेस गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने कार्यक्रम रहेको छ भने यसअघि कात्तिक ९ गते बिहान ११ बजे ‘प्रि(बिड’ ९बोलपत्रपूर्व० बैठक आयोजना गरिने सूचनामा उल्लेख छ ।
मुख्य सडकको स्तरोन्नति भएसँगै देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जको ट्राफिक व्यवस्थापन सहज हुने, धुलो(धुवाँको समस्याबाट मुक्ति मिल्ने र समग्र शहरको सौन्दर्य तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ । अब ठेक्का प्रक्रिया निष्कर्षमा पुगेर काम कहिलेबाट फिल्डमा सुरु हुन्छ भन्नेमा अहिले वीरगञ्जवासीको चासो र नजर टिकेको छ ।