काठमाडौँ,३० असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोकमरी अन्त्य गर्दै दिगो खाद्यसुरक्षा सुनिश्चित गर्न सरकारले विभिन्न नीति, कानुन तथा योजना कार्यान्वयन गरिरहेको बताएकी छन् ।
४६औँ विश्व खाद्य दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले नेपालको संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
उनका अनुसार कृषि विकास रणनीति, खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, सोह्रौँ आवधिक योजना र खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिमार्फत भोकमरी अन्त्य र खाद्यसुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिइएको छ ।
मन्त्री चौधरीले कृषि भूमिको संरक्षण, उपलब्ध स्रोतको उचित उपयोग तथा अनुसन्धान र नवीन प्रविधिको विस्तारमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी नागरिकलाई पर्याप्त र पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उनले बताइन् ।
विश्वव्यापी रूपमा हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ । यस वर्ष ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदैछ ।
विश्व भोकमरी सूचकाङ्कमा नेपाल १४.८ अङ्कसहित ७२औँ स्थानमा रहे पनि पाँच वर्षमुनिका करिब २६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको तथ्याङ्कले पोषण सुरक्षाका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको देखाएको मन्त्री चौधरीले उल्लेख गरेकी छन् ।
उनले जलवायु परिवर्तन, प्राकृतिक विपद्, कृषिभूमिको क्षयीकरण र आयातको बदलिँदो प्रवृत्तिले नेपालको खाद्यसुरक्षा तथा खाद्य सम्प्रभूतामा चुनौती थपेको बताइन् ।
‘जलवायु परिवर्तनले निम्त्याउने सङ्कट, भोटेकोसी बाढीजस्ता अकल्पनीय प्राकृतिक विपद्, कृषिभूमिको क्षयीकरण र आयातमा देखिएको परिवर्तित प्रवृत्तिले हाम्रो खाद्यसुरक्षा र खाद्य सम्प्रभूतामा चुनौती सिर्जना गरेका छन्,’ उनले भनेकी छन् ।
खाद्यसुरक्षा राष्ट्रिय सुरक्षासँग समेत जोडिएको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै मन्त्री चौधरीले जलवायु अनुकूलन प्रविधि, स्थानीय तथा रैथाने बालीको संरक्षण, डिजिटल कृषि र आधुनिक नवप्रवर्तनलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।
दिगो खाद्य प्रणाली निर्माण तथा पोषण सुरक्षाको प्रत्याभूतिका लागि सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, सहकारी, विकास साझेदार तथा किसानबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने अभियानमा सबै पक्षको सक्रिय सहभागिताका लागि आह्वानसमेत गरेकी छन् ।