वीरगंज,०६ कार्तिक । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानी तथा नोक्सानी सम्बोधन कोषले नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ।
कोषको पहिलो विशेष बोर्ड बैठकले नेपालका लागि २ करोड अमेरिकी डलर तथा अनुगमन शुल्कबापत १६ लाख डलर गरी कुल २ करोड १६ लाख डलर स्वीकृत गरेको हो। यो रकम नेपाली रुपैयाँमा करिब ३ अर्ब २६ करोड बराबर हुन्छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार बिहीबार बसेको कोषको विशेष आकस्मिक बैठकले बाढी प्रभावित समुदायलाई लक्षित गरी उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।
अनुदान प्राप्त गर्न नेपालले भोटेकोशी बाढी प्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव तयार गरेर कोषमा पेस गर्नुपर्नेछ। प्रस्ताव स्वीकृत भएपछि कोषको कार्यविधिअनुसार राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट करिब १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रभावित भएको मन्त्रालयको प्रारम्भिक विवरण छ। बाढीमा १ हजार ५०० भन्दा बढीको मृत्यु भएको र ५ हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाइएको छ।
बाढीबाट करिब २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भने करिब ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।
जलवायु परिवर्तनका कारण हुने विपद्बाट प्रभावित मुलुकलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हानी तथा नोक्सानी सम्बोधन कोषबाट प्राप्त अनुदानले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।