काठमाण्डौ – हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज काठमाण्डौ उपत्यकाका भित्री शहरमा मनाइँदैछ ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी काठमाण्डौको भित्री क्षेत्रका नेवार समुदायले मनाउँछन् ।
परापूर्वकालदेखि मनाउँदै आएको यो पर्वमा गठामङ्गल नाम गरेको राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।
दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ । ठाउँ एवम् कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहितले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा राजधानीको तीनै शहर काठमाण्डौ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।
पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याइ आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ ।
यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रङ्गले रङ्गाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ ।
घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ ।
भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।